logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • विश्व अर्थतन्त्र विस्तार ३.१ प्रतिशत हुने आइएमएफको प्रक्षेपण

    विश्व अर्थतन्त्र विस्तार ३.१ प्रतिशत हुने आइएमएफको प्रक्षेपण

    1.3K
    Shares
    विश्व अर्थतन्त्र विस्तार ३.१ प्रतिशत हुने आइएमएफको प्रक्षेपण

    वासिङ्टन, एएफपी । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले विश्वभरका प्रमुख उन्नत र उदीयमान बजार अर्थतन्त्रमा अप्रत्याशित ‘लचिलोपन’ लाई उद्धृत गर्दै सन् २०२४ को वैश्विक वृद्धि प्रक्षेपण ३ दशमलव १ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको छ।

    पछिल्लो विश्व आर्थिक दृष्टिकोण (डब्लुइओ) प्रतिवेदनमा जारी अद्यावधिक आँकडा अक्टोबरमा आइएमएफको पछिल्लो प्रक्षेपणभन्दा शून्य दशमलव दुई प्रतिशत अङ्कले बढी छ। आइएमएफका प्रमुख अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चसले प्रतिवेदन प्रकाशनअघिको पत्रकार सम्मेलनमा भने “हामीसँग एकैसाथ कम मुद्रास्फीति र अधिक वृद्धि दर थियो।” उनले चीन, रुस, ब्राजिल र भारतसहितका मुलुकहरूमाथि प्रकाश पार्दै भने, “यो अमेरिकाको मात्र होइन, गत वर्ष र सन् २०२४ सम्म विश्वका कयौँ भागमा धेरै लचिलोपन थियो ।” सुधार भए पनि उच्च ब्याजदरको निरन्तर प्रभाव, महामारीसँग सम्बन्धित सरकारी समर्थन फिर्ता हुनु तथा उत्पादकत्वको निरन्तर न्यूनस्तरका कारण यस वर्ष र आगामी वर्ष वैश्विक वृद्धि ३ दशमलव ८ प्रतिशतको हालको औसतभन्दा तल रहने अनुमान गरिएको छ।

    धनी ७ मुलुकको समूह (जि७) को उन्नत अर्थतन्त्रहरूमध्ये युरोपेली मुलुकहरूमा वृद्धि कमजोर रहने देखिन्छ। यसले विद्यमान चुनौतीहरूलाई प्रतिविम्बित गर्दछ। जापान र क्यानाडाको प्रदर्शन केही राम्रो रहने अपेक्षा गरिएको छ । आइएमएफका अनुसार समग्र मुद्रास्फीति सन् २०२४ मा ५ दशमलव ८ प्रतिशतमा अपरिवर्तित रहेको छ। तर, यसले धनी र गरिब मुलुकहरूबीच महत्त्वपूर्ण अन्तरनिहित परिवर्तनलाई लुकाएको छ ।

    उन्नत अर्थतन्त्रहरूमा मुद्रास्फीति सन् २०२४ मा २ दशमलव छ प्रतिशत हुने अनुमान छ। यो अक्टोबरमा गरिएको प्रक्षेपणको तुलनामा शून्य दशमलव चार प्रतिशत अङ्क कम हो। उदीयमान र विकासशील अर्थतन्त्रहरूमा वार्षिक मुद्रास्फीति दर शून्य दशमलव तीन प्रतिशतले बढेर आठ दशमलव एक प्रतिशत हुने अपेक्षा गरिएको छ। अधिकांश वृद्धिको श्रेय अर्जेन्टिनामा जारी समस्यालाई दिन सकिन् । त्यहाँ जारी आर्थिक सङ्कटका बिच गत वर्ष उपभोक्ता मूल्य दुई सय प्रतिशतभन्दा धेरैले बढेको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend