
काठमाडौं। बर्दियाको राजापुरमा नयाँ चिनी उद्योग सञ्चालनमा आउने भएको छ। राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा चिनी मिल सञ्चालनको तयारी थालेको हो। उद्योग स्थापनाको कूल लागत १ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ रहेको छ। प्रारम्भीक निर्माणको चरणमा रहेको राजापुर सुगर आउँदो सन् २०२५ असारसम्म सञ्चालनमा आउने भएको छ।
उद्योगमा ८० प्रतिशत बैंकको ऋण र बाँकी २० प्रतिशत संस्थापकहरुको स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ। जसमा १ अर्ब ३५ करोड रुपैयाँ बैंकको ऋण र बाँकी ३३ करोड ६८ लाख रुपैयाँ स्वपुँजी लगानी हुने राजापुर सुगरले जनाएको छ। दैनिक २५ सय टन उखु क्रसिङ गर्ने उद्योगको क्षमता छ। उद्योगले चिनीका साथै मलोसिसबाट मदिरा पनि उत्पादन गर्ने भएको छ। यसका लागि बेग्लै उत्पादन प्लान्ट राख्ने राजापुर सुगरले जनाएको छ। उद्योग राख्नका लागि अहिले जग्गा अधिग्रहणको काम भइरहेको छ भने १ अर्ब ५३ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
सञ्चालनको तयारी थलिएपछि किसान उखु खेतीतर्फ आकर्षित भएका छन्। उखु मिल सञ्चालन हुने थाहा पाएपछि किसान उखु खेती विस्तारमा लागेका हुन्। राजापुर सुगरका अध्यक्ष यज्ञबहादुर ओलीले आगामी वर्ष मिल सञ्चालन गर्ने गरी काम भइरहेको बताए। ‘किसानलाई उखु खेतीका लागि आग्रह गरेका छौं।’ उनले भने, ‘उखु उत्पादनसँगै मिल सञ्चालनको पनि काम भइरहेको छ।’
कम्पनीले २० बिघाह जग्गा खरिद गरेर काम थालेको छ। मिल पूर्णरूपमा सञ्चालन गर्नका लागि पाँच हजारदेखि छ हजार बिघामा उखु खेती आवश्यक पर्ने अध्यक्ष ओली बताउछन्। मिल सञ्चालनमा आए ५ सयभन्दा बढी जनाले प्रत्यक्षरुपमा रोजगारी पाउने भएका छन्।
बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी चार जिल्लामा मात्रै ३ लाख ५९ हजार ३ सय ८८ टन उखु उत्पादन हुने गरेको छ। उद्योग सञ्चालनमा आउने भएपछि उखु उत्पादन बढ्ने अनुमान गरिएको छ। नेपालमा वार्षिक २ लाख ६० हजार टन चिनी खपत हुने गरेको छ। आन्तरिक उत्पादनले मात्र अपुग हुने भएपछि भारतबाट पनि ठूलो परिमाणमा चिनी आयात हुने गरेको छ। मागअनुसार उत्पादन नभएकाले राजापुर सुगरले यसबाट लाभ लिन सक्ने देखिएको छ।
राजापुर सुगरका अध्यक्ष ओली दुई दशक भन्दा बढी समयदेखि उद्योग व्यवसायमा संलग्न छन्। उनको लगानीमा दुई दशकदेखि सुदुरपश्चिममा देउती गुट्खा इन्डष्ट्रिज सञ्चालनमा छ। उद्योगबाट गुट्खा र सुर्तिजन्य वस्तु उत्पादन हुँदै आएको छ। देउती गुट्खाले गत वर्ष ३ अर्ब ५१ करोड १० लाख रुपैयाँ कारोबार गरेको छ। देउतीले अघिल्लो वर्ष २ अर्ब ९८ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो। उद्योगको व्यापार बढ्दै गएको छ।
ओलीको लगानीमा देउती प्याकेजिङ, देउती सोप एन्ड केमिकल्स,लोटस टोबाको इन्डष्ट्रिज, होटल मेगा र देउती रियलस्टेट सञ्चालनमा छन्। राजापुर सुगर २०२३ मा स्थापना भएको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend