काठमाडौँ । ललिता निवासमा जग्गा किनेका जग्गाधनीहरुको जमिन जफत हुने भएको छ । विशेष अदालतका सदस्यहरु डा.खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने आदेश गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले आज पत्रकार सम्मेलनमा जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको १४३ रोपनी जग्गाको कागजात किर्ते गरी व्यक्तिको नाममा गएको भन्दै मुद्दा दायर गरेको थियो ।
सार्वजनिक पद धारण गरेका मन्त्री र सचिवसहितका ६० जना पदाधिकारी एवं कर्मचारी र ललिता निवासका तत्कालीन भोगाधिकारी सुवर्णशमशेर राणाका हकदार रुक्मशमशेरसहित भूमाफिया व्यापारी, बिचौलिया र जग्गा हिनामिना गरी आफ्ना नाममा लैजाने ५० गरी १ सय १० जनालाई बिगो, कैद र जरिवाना तथा हाल जग्गा आफ्ना नाममा भएका ६५ जनालाई जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
पञ्चायतकालमा सरकारले सुवर्णशमशेरका परिवारलाई मुआब्जा दिएर कानुनसम्मत अधिग्रहण गरी समरजंग कम्पनीका नाममा राखेको उक्त जग्गा २०४९ देखि २०६९ को अवधिमा तत्कालीन भोगाधिकारी, भूमाफिया र व्यापारीले गैरकानुनी रूपमा हडपेका थिए।
२०४७ सालमा मन्त्रिपरिषद्बाट भएका निर्णयको अपव्याख्या एवं कर्मचारीलाई प्रलोभनमा पारेर राणा परिवारले सुरुमा करिब १ सय १३ रोपनी जग्गा आफ्नोमा नामसारी गरेका थिए। त्यहींबाट हिनामिनाको क्रम सुरु भएकोमा २०६२, २०६६ ६७ र २०६९ का मन्त्रिपरिषद् र मालपोतका गैरकानुनी निर्णयका आधारमा थप जग्गा व्यक्तिका नाममा पुगेको थियो ।
राणा परिवारका सदस्य, भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा भाटभटेनीका सञ्चालक गुरुङसहितका व्यक्तिको योजना एवं मालपोतदेखि मन्त्रिपरिषद्सम्मका गैरकानुनी निर्णयबाट सरकारी जग्गा व्यक्तिका नाममा पुगेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका पालामा प्रधानमन्त्री निवास विस्तारको आवरणमा मन्त्रिपरिषद्बाट निर्णय गराएर भूमाफियाले सट्टाभर्नाका नाममा जग्गा हत्याएका थिए भने बाबुराम भट्टराई प्रधानमन्त्री छँदा भूमाफियाले मन्त्रिपरिषद्बाटै निर्णय गराएर पशुपति टिकिन्छा गुठीमा करिब ५ रोपनी जग्गा लगेर त्यसपछि नक्कली मोही खडा गरी हडपेका थिए । योसहित कुल १ सय ४३ रोपनीभन्दा बढी जग्गा २०४९ देखि २०६९ को अवधिमा हडपिएको थियो ।
२०२१ सालको सरकारले तत्कालीन भोगाधिकारी सुवर्णशमशेरका परिवारलाई मुआब्जाबापत १६ लाख ३३ हजार ९ सय २२ रुपैयाँ दिएर अधिग्रहण गरेको करिब २ सय ८५ रोपनी जग्गा गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीको संरक्षणमा राखेको थियो ।
२०१७ पुस १ मा पञ्चायती व्यवस्था सुरु भएसँगै सुवर्णशमशेर र उनका छोरा कञ्चनशमशेरका नाममा भएको करिब १४ रोपनी जग्गा जफत र बाँकी कानुनअनुसार अधिग्रहण भएकोमा जफत भएको गलत दाबी पेस गरेर राणा परिवारले २०४९ मा जग्गा हत्याएका थिए ।