
पर्वत। जिल्लाको मोदी गाउँपालिका–१ सेराबेंसीदेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने केबुलकार निर्माण प्रक्रिया अघि बढेको छ । विश्वकै लामो बहुचर्चित मुक्तिनाथ केबुलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटन व्यवसायमा भने असर नगर्ने आयोजनाले जनाएको छ। मुक्तिनाथ केबुलका केबुलकारको लम्बाइ ८० किलोमिटर लामो छ। प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले केबुलकार निर्माणपछि यस क्षेत्रको पर्यटन व्यवसाय वृद्धि हुने बताए।
मुक्तिनाथ जाने पर्यटक पर्वत र कास्कीको सिमानास्थित सेराबेंसीबाट चढे पनि कुश्मा, बागलुङ र म्याग्दी क्षेत्रले पनि भरपुर लाभ लिनसक्ने उनको भनाई छ । “मुक्तिनाथ जाने पर्यटक पोखराबाट मात्रै आउँदैनन्, कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग छदैछ, अर्को बलेवा विमानस्थलमा भैरहवाबाट पर्यटक झर्ने सम्भावना हुन्छ”, उनले भने, “ती पर्यटक कहाँ कुश्मा, बागलुङ र बेनीमा बस्छन् ।”
केबुलकार कम्तीमा पनि दैनिक १० हजार जना आवतजावत गर्ने क्षमताको रहेको र त्यसमा मुक्तिनाथको यात्रा गराउने कम्पनीले पर्वतको गुप्तेश्वर तथा अल्पेश्वर गुफा, बागलुङको कालिका मन्दिर, पञ्चकोट, म्याग्दीको गलेश्वर मन्दिरमा प्याकेज बनाएर पुर्याउने व्यवस्था हुने भएका कारण पनि यस क्षेत्रले प्रचुर फाइदा लिनसक्ने सुवेदीको भनाइ छ ।
केबुलकार परियोजनाका लागि आवश्यक कम्पनीको जग्गा नाम सारी गर्ने क्रममा अध्यक्ष सुवेदी पर्वत पुगेका हुन्। पवर्तको भुक स्टेशनको जग्गा नामसारी भइसकेको छ। बेसस्टेशन सेरफाँट र बुलेरीको जग्गाको नामसारीका लागि नापाजाँच भइरहेको छ।
अध्यक्ष सुवेदीले लगानीको स्रोत सुनिश्चित भइसके पनि सरकारी प्रक्रियाको ढिलाइले निर्माणको काम पछि धकेलिएको बताए। २० प्रतिशत स्वदेशी र ८० प्रतिशत भारतको के एण्ड आर इञ्जिनियरिङ लिमिटेडले केबुलकार निर्माणका साथै लगानीसमेत गर्नेगरी सुनिश्चित भए पनि नेपालका कानुनी प्रक्रियाले प्रक्रिया पूरा गर्न काम गरिरहेको उनले बताए।
सुवेदीका अनुसार विश्वकै लामो मुक्तिनाथ केबलकार इञ्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा बनाउन लागिएको हो । “इपिसिएफ मोडलमा केबुलकार बनाउने प्रारम्भिक सम्झौता गरिसकेका छौँ”, उनले भने, “ लगानी सुनिश्चित भइसकेको छ ।”
उनले इपिसिएफ मोडेलबाट बन्न लागेको केबलकार नेपालकै पहिलो ठूलो परियोजना भएको जनाउँदै ८० किलोमिटर लामो केबलकार बनाउन ५५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको बताए। समझदारीअनुसार कूल लागतको ८० प्रतिशत अर्थात् ४४ अर्ब रुपैयाँ के एण्ड आर इञ्जिनियरिङ भारतले लगानी गर्नेछ ।
आयोजनाको वातावरणीय मूल्याङ्कन प्रतिवदेन (इआइए) पास हुन र सरकारसँग आयोजना विकास सम्झौता (पिडिए) गर्न भने अझै बाँकी रहेको छ । चार धाममध्ये दर्शनका लागि मुक्तिनाथ पुग्नैपर्ने धार्मिक मान्यताअनुसार मुक्तिनाथ जाने धार्मिक पर्यटकको उपस्थिति बढ्ने उनको भनाइ छ।
लगानी जुटाइसकेको प्रस्तावित विश्वकै सबैभन्दा लामो केबुलकार निर्माता मुक्तिनाथ दर्शन प्रालिले अपडेट गरिएको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) लगानी बोर्डमा बुझाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend