
काठमाडौं। प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेको सौरभ ग्रुपको सर्वोत्तम सिमेन्ट लिमिटेडले चालू आर्थिक वर्षमा खुदनाफा ३ सय ४ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ। चालू आर्थिक वर्षमा उद्योगले ८२ करोड ८४ लाख २८ हजार रुपैयाँ खुदनाफा हुने अनुमान गरेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमाशमा उद्योगले सिमेन्ट बेचेर ८ करोड ३५ लाख रुपैयाँ खुदनाफा गरेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ।
गत आर्थिक वर्षमा उद्योगले २० करोड ५१ लख ८५ हजार रुपैयाँ खुदनाफा गरेको थियो। एक वर्षमा उद्योगले ६२ करोड ३२ लाख रुपैयाँ खुदनाफा बढाउने अनुमान सार्वजनिक गरेको छ। यो नाफा गर्न सर्वोत्तमले सिमेन्ट बेचेर ७ अर्ब ७९ करोड रुपैयाँ कूल आम्दानी गर्ने अनुमान छ । गत आर्थिक वर्षमा उद्योगले ५ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। अघिल्लो आर्थिक वर्षमा तुलनामा गत आर्थिक वर्ष ०७९/८० मा उद्योगको उत्पादन तथा बिक्री करीब ३१ प्रतिशत घटेको थियो।
यस्तै आर्थिक वर्ष ०८१/०८२ मा नाफा बढेर १ अर्ब २ करोड रुपैयाँ पुग्ने अनुमान सर्वोत्तमको छ । यो वर्ष ८ अर्ब १४ करोड रुपैयाँ सञ्चालन आम्दानी गर्ने अनुमान उद्योगको छ। यस्तै तेस्रो वर्ष ०८२/०८३ मा १ अर्ब १८ करोड ५१ लाख रुपैयाँ खुदनाफा हुने अनुमान उद्योगको छ। यो वर्ष उद्योगले ८ अर्ब ७२ करोड ३९ लाख रुपैयाँ सञ्चालन आम्दानी हुने अनुमान सार्वजनिक गरेको छ।
उद्योगले लक्षित नाफा गर्न चालू आर्थिक वर्षमा सिमेन्ट उत्पादन क्षमता उपयोग बढाएर ७५ र क्लिङकर ८२ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ। आगामी वर्ष सिमेन्ट उत्पादन क्षमता ८० र क्लिङकर ८६ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।
यस्तै आर्थिक वर्ष ०८२/०८३ मा सिमेन्टको क्षमता उपयोग बढेर ८५ र क्लिङकरको ९० प्रतिशत पुर्याउने लक्ष्य उद्योगको छ । चालू आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १७.८२, आगामी आर्थिक वर्षमा २२.११ र ०८४/०८५ मा २५.४९ रुपैयाँ पुग्ने अनुमान उद्योगको छ। यस्तै विगत ३ वर्षको नेटवर्थमा भएको औसत प्रतिफल ९.९३ प्रतिशत छ। चालू आर्थिक वर्षमा नेटवर्थमा औसत प्रतिफल ८.६० प्रतिशत हुने अनुमान छ।
आगामी वर्ष १०.८२ र तेस्रो वर्ष १२.७५ प्रतिशत पुग्ने सर्वोत्तमले जनाएको छ। चालू वर्षमा जगेडा कोषको आकार ४ अर्ब ९८ करोड ५८ लाख, आगामी वर्ष ४ अर्ब ८५ करोड १५ लाख र तेस्रो वर्ष ४ अर्ब ६४ करोड १६ लाख रुपैयाँ हुने अनुमान छ।
आर्थिक वर्ष ०७७/०७८ मा १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएकामा आव ०७८/०७९ मा उक्त नाफा घटेर ४६ करोड ७६ लाख रुपैयाँमा आएको बताएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा नाफा थप घटेर २० करोड ५१ लाख ८५ हजार रुपैयाँमै सीमित भएको सार्वजनिक गरिएको विवरणपत्रमा उल्लेख छ ।
उद्योगको कूल आम्दानीको १० प्रतिशत हिस्सा भारतमा सिमेन्ट निर्यातबाट गर्ने लक्ष्य लिएको छ। आगामी आर्थिक वर्षमा उद्योगको निर्यात हिस्सा बढेर १५ र तेस्रो वर्ष २० प्रतिशत पुर्याउने लक्ष्य लिएको सर्वोत्तमले जनाएको छ ।
उद्योगको उत्पादन क्षमता दैनिक ३ हजार टन क्लिंकर र ३ टन सिमेन्ट उत्पादन क्षमता छ । ५० किलोका दरले ६० हजार बोरा उत्पादन क्षमता रहेको सर्वोत्तमले जनाएको छ । उद्योगले डेनमार्कको भिआरएम प्रविधिबाट सिमेन्ट उत्पादन गर्दै आएको छ।
उद्योगको वार्षिक सिमेन्ट उत्पादन क्षमता ९ लाख ९० हजार टन छ। गत आर्थिक वर्षमा क्षमताको आधा ४ लाख ८५ हजार ८ सय २ टन सिमेन्ट बिक्री गरेको जनाएको छ।
उद्योगको कुल लागत
उद्योगको कुल लागत १२ अर्ब २२ करोड ६ लाख ७९ हजार रुपैयाँ छ। शुरुमा मिति २०६९ माघ १८ मा प्राईम कमर्शियल बैंकको अगुवाइमा नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकबीच भएको ऋण सम्झौता बमोजिम उक्त बैंकहरुबाट परियोजना निर्माण तथा सञ्चालनका लागि कर्जा लिएकोमा अहिलेसम्म ४ अर्ब ५ करोड ९५ लाख रुपैयाँ कर्जा लगानीमा रहिरहेको छ।
उक्त कर्जा र सो को ब्याज तथा अन्य दस्तुरसमेत खाम्ने गरी सुरक्षण वापत कम्पनीको नाममा हाल रहेको र आयोजनाको चल अचल सम्पत्ति कम्पनीको नाममा रहेको नवलपरासी जिल्ला सुनवल स्थित परियोजनाको नाममा रहको ११–३–४–५ क्षेत्रफल जग्गा उक्त बैंकहरुको नाममा दृष्टिबन्धकको लिखत रजिष्ट्रेशन पारित गरिएको छ । कम्पनीले विभिन्न बैंकहरुबाट लिएको दीर्घकालिन दायित्वका ऋणमध्ये २०८० असारसम्म ९५.१८ प्रतिशत चुक्ता गरिसकेको उद्योगले जनाएको छ।
साधारण लगानी फिर्ता हुने अवधि ३ वर्ष ९ महिना र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ४ वर्ष ७ महिना छ । इन्टर्नल रेट अफ रिर्टन २८.२६ प्रतिशत छ।
उद्योगको नयाँ उत्पादन योजना
हाल सर्वोत्तमले ओपिसी ४३, ५३ ग्रेड र पिपिसी सिमेन्टमा प्राथमिकता दिएको भए पनि आगामी दिनमा आउन सक्ने बजारको मागलाई ध्यानमा राखी पिएससी, स्लाग सिमेन्टलगायत अन्य विभिन्न ब्रान्ड र ग्रेडका सिमेन्ट उत्पादन गरी बजारको आवश्यकतालाई परिपूर्ति गर्ने योजना राखेको जनाएको छ । सर्वोत्तमले उत्पादन विविधिकरण गर्न सक्ने गरी संरचना बनाएको जानकारी दिएको छ।
उत्पादन तथा बिक्री वितरणको योजना
उद्योग रहेको जिल्ला नवलपरासी र अन्य जिल्ला तथा स्थानहरु क्रमशः कपिलवस्तु, बुटवल, मकवानपुर, काठमाडौ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, बारा, पर्सा, दोलखा, चितवनमा सिमेन्ट बिक्री गर्दै आएको छ।
यस्तै उद्योगले धादिङ, रौतहट, सर्लाही, सिन्धुली, पोखरा, तनहँु, गोरखा, स्याङ्गजा, पर्वत, लमजुङ्ग, म्याग्दी, बाग्लुङ्ग, नेपालगञ्ज, धनगढी समेतका क्षेत्रहरुमा उत्पादित सिमेन्ट बिक्री वितरणको लागि कम्पनीले दुई प्रकारका वितरण प्रणाली अवलम्बन गरेको छ ।
जसमा डिलर वितरण प्रणालीमार्फत होलसेलर, रिटेलर हुँदै ग्राहकसम्म पुर्याउने र अर्काे प्रणालीअनुसार उद्योगबाट सोझै ठूला–ठूला परियोजना तथा आयोजनाहरुमा सिधै आपूर्ति गर्ने व्यवस्था गरी बिक्री वितरण गरिएको उद्योगले जनाएको छ ।
सर्वोत्तम सिमेन्टको ब्रान्डमा ग्रिन सर्वोत्तम सिमेन्ट ओपिसी मा शुभ श्री जगदम्बा सिमेन्ट मिल्सले उत्पादन गरी कम्पनीको वीरगञ्ज युनिटबाट पूर्वी तराईका जिल्लाहरुमा बिक्री वितरण शुरु भैसेकेको छ ।
उत्पादन क्षमता र उपभोग स्थिति
०७९/०८० मा क्लिंकर ५ लाख ३६ हजार ३ सय २८ टन तथा सिमेन्ट ४ लाख ९३ हजार १ सय ९१ टन उत्पादन गरी बिक्री वितरण गरेको छ । सर्वोत्तमको क्लिंकर उत्पादन क्षमता वार्षिक ९ लाख ९० हजार टन र सिमेन्ट उत्पादन क्षमता वार्षिक ९ लाख ९० हजार टन रहेको छ ।
आइपिओ खुल्यो
सर्वोत्तम सिमेन्टले आजदेखि सर्वसाधरणका लागि आइपिओ निष्कासन गरेको छ । सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई खुला गरेको हो ।
सर्वोत्तमले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ।
बुक बिल्डिङ विधिबाट निर्धारण भएको कम्पनीको आइपिओको प्रतिकित्ता मूल्य ३६०.९० रुपैयाँ रहेको छ ।यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा फागुन २७ गतेसम्म खुला रहनेछ । एक जनाले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend