logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सेयरधनीलाई लाभांश नबाँडेर प्रणाली सुधारमा लाग्न गभर्नर अधिकारीको बैंकरलाई सुझाव

    सेयरधनीलाई लाभांश नबाँडेर प्रणाली सुधारमा लाग्न गभर्नर अधिकारीको बैंकरलाई सुझाव

    1.9K
    Shares
    सेयरधनीलाई लाभांश नबाँडेर प्रणाली सुधारमा लाग्न गभर्नर अधिकारीको बैंकरलाई सुझाव

    काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताएका छन्। नेपाल बैंकर्स संघ (एनबिए) ले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले भने ‘राष्ट्र बैंकले नियमन र अनुगमन गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कुनै हालतमा पनि डुब्न दिँदैन्।’

    एउटा बैंकमा समस्या आउँदा अर्को बैंक खुसी हुने खराब प्रवृत्तिले भोलिका दिनमा समग्र बैंकिङ क्षेत्रलाई नै समस्यामा पार्नसक्ने भएकाले सबैले मिलेर अहिलेको समस्या समाधान गर्नतर्फ केन्द्रित हुनुपर्नेमा अधिकारीले जोड दिए।

    छलफलका क्रममा गभर्नर अधिकारीले बलियो नियामकीय संरचना र वित्तीय आधार भएका कारण कुनै पनि संस्था नडुब्ने दाबी गरे । “राष्ट्र बैंकले कुनै संस्थालाई ढल्न दिँदैन । बैंक वित्तीय संस्था फेल हुने अवस्थामा छैनन् । साना संस्थामा केही समस्या आउनसक्छ । तर सर्वसाधारणको बचत रकम कुनै पनि हातलमा डुब्दैन”, गभर्नर अधिकारीले भने, “राष्ट्र बैंकले नियमन गरेका संस्थाहरु सजिलै डुब्दैनन्। हाम्रो प्रणाली धेरै हदसम्म राम्रो छ । हामीले लिएका नीति राम्रा छन् । बैंकहरुको खराब कर्जा केही प्रतिशत बढ्यो भन्दैमा समस्या हुँदैन । कर्जाको प्रोभिजनिङ निकै राम्रो छ ।”

    अहिले बैंकहरुले नाफा खोज्ने नभई आफू कसरी सुरक्षित रुपमा चलिरहने भनेर सोच्नुपर्ने पनि गभर्नर अधिकारीले बताए । आफू गभर्नर भएर राष्ट्र बैंक आउँदा ७० अर्ब रुपैयाँ रहेको नाफा अहिले त्यो अवस्थामा पुुग्नसक्ने उनले उल्लेख गरे । ३२ खर्ब बैंकको लगानी बढेर ५० खर्ब पुग्दा पनि ७० अर्ब रुपैयाँ नाफा गर्न नसक्ने अवस्थामा ‘कसरी बैंक साहु महाजन भए ? भन्दै गभर्नरले प्रश्न गरे । उनले बैंकहरुलाई गाली गर्नेहरुले बैंकहरुको तथ्याङ्क नहेरेको बताए ।गभर्नर अधिकारीले राजनीतिक पार्टीका नेतृत्वदेखि बैंक बुझ्ने धेरैले बैंक अराजक,सामन्ती र मिटरब्याजी भए भनेर गाली गरिरहेको गुनासो गरे । उनले नेपालका कुनै पनि बैंकहरु अराजक, सामन्ती र मिटरब्याजी नभएको दाबी गरे ।

    पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी भइरहेका नकारात्मक प्रचारबाजीले पनि समस्या सिर्जना गरेको उनको गुनासो थियो। “लाभांश कम लिनुस तर संस्था चल्नुपर्छ । बैंक तथा वित्तीय संस्थालाई बलियो बनाउनकै लागि मर्जरको नीति लिइएको हो”, उनले भने, “बैंक तथा वित्तीय संस्था भनेको संवेदनशील क्षेत्र हो। तर हाम्रो समाज र अहिलेकाले बैंकिङ क्षेत्र नै नबुझी गाली गर्ने चलन ।”
    गभर्नर अधिकारीले तत्काल आत्तिनुपर्ने अवस्था नभएको भन्दै सेयरधनीलाई लाभांश नदिएर भए पनि प्रणाली सुधारमा लाग्नुपर्ने आवश्यकता औंल्याए।

    समग्र अर्थतन्त्रमा देखिएको शिथिलताको असर बैंक तथा वित्तीय संस्थाको वित्तीय स्वास्थ्यमा परेको भएपनि उनीहरु डुब्ने अवस्थामा भने नपुगेको गभर्नर अधिकारीले स्पष्ट पारे। कोभिड महामारीयताका ठूलो रकम कर्जा प्रवाह भएको र उक्त कर्जा नउठ्दा बैंकहरु थप कर्जा दिन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

    ठूलो रकममा कर्जा लिएका ऋणीहरुले आफ्नो व्यवसायबाट लक्षित नाफा लिन नसक्दा पनि साँवा ब्याज तिर्न मुस्किल भएको उनले बताए । कोभिड महामारीका कारण नेपाल मात्र होइन विश्वभर नै आर्थिक वृद्धिदर घट्ने र मुद्रास्फीति बढेको देखिएकोमा अहिले बिस्तारै सुधार हुँदै गएको पनि गभर्नर अधिकारीले उल्लेख गरे । विगतमा बैंकहरुले धेरै सोचबिचारबिनै ठूलो रकम कर्जा प्रवाह गरेको र ऋणीहरुले पनि आफ्नो तिर्न सक्ने क्षमता विश्लेषण बिनै ऋण लिएको उनको तर्क छ।

    “आफ्नो क्षमता अनुसारको ऋण लिएको भए अहिले समस्या हुँदैनथ्यो। उहाँहरूलाई समस्या पर्नुमा हामी पनि दोषी छौं”, गभर्नर अधिकारीले भने। सहकारी क्षेत्र समस्यामा पर्दा त्यसको असर बैंकिङ क्षेत्रमासमेत परेको उहाँले बताए ।

    सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि नियामकीय अधिकारसहितको विशिष्टीकृत संस्था बनाएर जान आवश्यक रहेको उनको भनाई छ । निर्माण क्षेत्रमा देखिएको समस्याका कारण पनि त्यसको असर समग्र अर्थतन्त्रमा देखिएको गभर्नर अधिकारीको दाबी छ । “निजी क्षेत्र र सरकारी क्षेत्रबाट हुने विकास निर्माण कमजोर छ । निर्माण उद्योग समस्यामा पर्दा सिमेन्ट छडलगायत क्षेत्र समस्यामा प¥र्यो । यसरी बहुआयामिक असर देखिए”, उनले भने।

    सो अवसरमा एनबिएका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनील केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्था लक्षित गरी अनर्गल प्रचार भैरहेको बताए। बैंक तथा वित्तीय संस्थाहरुले सङ्कटको सामना गर्नुपरिरहेका बेला सरकारको तर्फबाट पर्याप्त सहयोग नभएको गुनासो उनले गरे।

    अहिले ब्याजदर घट्दोक्रममा रहेको र स्थिरतातर्फ गैरहेको उनको भनाइ छ । त्यस्तै मुद्रास्फीति घट्दो रहेको, बाह्यक्षेत्र सन्तुलनमा रहेको, रेमिट्यान्स बढेकोलगायत कारण अर्थतन्त्र सहज हुँदै गएको उनले बताए।

    समग्र आर्थिक संकुचन आउँदा बैंक तथा वित्तीय संस्थाको नाफा पनि खुम्चिएको उहाँले बताए । “बैंकहरुको रिटर्न अन इक्युटी घटिरहेको छ। अहिले यो करिब नौ प्रतिशत मात्रै छ । यो पटकको कर्जा प्रवाह गतवर्षको भन्दा केही बढेको भएपनि लक्ष्यअनुसारको वृद्धि देखिन सकेको छैन”, केसीले भने, “यस्तो बेलामा बैंक तथा वित्तीय संस्थाबारे सडकबाट अनर्गल प्रचार भयो। अहिले बैंकिङ क्षेत्रले सबैको साथ खोजेको छ ।” नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट रहेको पनि उनले दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend