logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • चीनमा विध्वंश मच्चाएको कोरोनाभाइरस युरोपतिर सर्यो, महामारीको केन्द्रबिन्दु अब युरोप: डब्ल्यूएचओ

    चीनमा विध्वंश मच्चाएको कोरोनाभाइरस युरोपतिर सर्यो, महामारीको केन्द्रबिन्दु अब युरोप: डब्ल्यूएचओ

    2.7K
    Shares

    चैत १ काठमाडौं: विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस विश्वव्यापी महामारीको “केन्द्रबिन्दु” अब युरोप भएको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन्।

    “यो आगोलाई बल्न नदिऊँ,” उनले भने। थुप्रै युरोपेली देशमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने मानिसको सङ्ख्यामा उल्लेख्य वृद्धि भएका विवरण आइरहेकै बेला महानिर्देशक टेड्रसले यस विषयमा बोलेका हुन्।

    इटलीमा २४ घण्टामा सर्वाधिक २५० जनाको मृत्यु भयो। अहिलेसम्म त्यहाँ कुल १,२६६ जनाको मृत्यु भइसकेको छ भने १७,६६० मा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ। इटलीपछि स्पेन सबैभन्दा नराम्ररी प्रभावित देश बनेको छ। त्यहाँ शुक्रवार मृत्यु हुने मानिसको सङ्ख्यामा ५० प्रतिशतले वृद्धि भई १२० र सङ्क्रमित हुने मानिसको सङ्ख्या ४,२३१ पुगेको छ। प्रधानमन्त्री पेद्रो सान्चेजले शनिवारदेखि दुई हप्तासम्म लागु हुने गरी सतर्कताको अवस्था कायम गरिने बताएका छन्।

    गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमण अहिले विश्वभरि फैलिएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका १२३ वटा देशमा १३२,५०० भन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड-१९ देखिएको छ।

    मृत्यु हुने मानिसको सङ्ख्या झन्डै ५,००० पुगेको छ। त्यो सङ्ख्यालाई डब्ल्यूएचओका महानिर्देशक टेड्रसले “एउटा दुःखद कोसेढुङ्गा”को रूपमा व्याख्या गरेका छन्। “युरोप अहिले यो विश्वव्यापी महामारीको केन्द्रबिन्दु बनेको छ। चीनबाहेक अरू सबै देशमा भएका मृत्यु र सङ्क्रमणका घटनाभन्दा बढी युरोपमा देखिएको छ,” उनले भने।

    “चीनमा महामारी उत्कर्षमा पुगेको बेलाभन्दा बढी घटनाहरू युरोपमा अहिले प्रत्येक दिन देखिन थालेका छन्।” स्पेन र इटलीमा सङ्ख्या बढिरहँदा फ्रान्समा २,८७६ जनामा सङ्क्रमण देखिएको छ भने ७९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको सङ्ख्या बिहीवार ६१ थियो। जर्मनीमा ३,०६२ जना सङ्क्रमित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ। ब्रिटेनमा ७९८ जनामा सङ्क्रमण देखिएको छ भने ११ जनाको ज्यान गइसकेको छ। बीबीसी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend