logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • पाकिस्तानी पूर्वप्रधानमन्त्री खानविरूद्धको मानहानि मुद्दा खारेज

    पाकिस्तानी पूर्वप्रधानमन्त्री खानविरूद्धको मानहानि मुद्दा खारेज

    1.3K
    Shares
    पाकिस्तानी पूर्वप्रधानमन्त्री खानविरूद्धको मानहानि मुद्दा खारेज

    इस्लामावाद एएनआई । पाकिस्तानका पूर्व प्रधान न्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित दायर गरेको मानहानिको मुद्दालाई इस्लामाबादको एक जिल्ला अदालतले शनिबार खारेज गरेको छ ।

    जुलाई २०१४ मा चौधरीले इमरान खानलाई सन् २०१३ को आम चुनावमा धाँधली गरेको र उनीद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाउँदै २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित मानहानिको सूचना जारी गरेका थिए ।

    खानले आफ्नो भनाइका लागि माफी नमागे कानुनी प्रक्रिया सुरु गर्ने चेतावनी उक्त सूचनापछि चौधरीको कानुनी टोलीले दिएको थियो ।चौधरीले जनवरी २०१५ मा औपचारिक रूपमा मुद्दा दर्ता गरेका थिए । मुद्दामा पाकिस्तानका पूर्व प्रधान न्यायाधीशले २७ जुन २०१४ मा इमरान खानद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाएका थिए।

    द एक्सप्रेस ट्रिब्यूनको रिपोर्टअनुसार लामो प्रक्रियापछि अदालतले इमरान खानको पक्षमा फैसला सुनाएको छ र चौधरीद्वारा दायर गरिएको मुद्दा खारेज गर्दै मानहानिको सूचना हद नागेपछि जारी गरिएको बताएको छ ।

    न्यायाधीश हसिना सकलैनले आफ्नो फैसलामा भनेका छन्, “मुद्दाअनुसार अन्तिम कथित मानहानिपूर्ण बयान सन् २०१४ जुन २७ मा गरिएको थियो र मुद्दा सन् २०१५ को जनवरी २० मा दायर गरिएको थियो । मुद्दा दायर गर्दा छ महिना २४ दिन हद नागिसकेकोले मुद्दालाई खारेज गरिएको छ ।

    अदालतले मानहानिसम्बन्धी सामग्री प्रकाशित भएको मितिले छ महिनाभित्र मानहानि मुद्दा दायर गर्नुपर्ने र त्यसो गर्न नसके मानहानि अध्यादेश २००२ को दफा १२ अनुसार मुद्दा गर्न नमिल्ने उल्लेख गरेको छ ।

    सन् २०२२ को अप्रिलमा अविश्वासको प्रस्तावमार्फत सत्ताच्युत भएयता पाकिस्तान तेहरीक–ए–इन्साफ(पीटीआई) का संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री खानले थुप्रै कानुनी चुनौतीको सामना गर्दै आएका छन् । उनी हाल रावलपिण्डीस्थित पाकिस्तानी केन्द्रीय कारागारमा छन्।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend