काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा ११ अर्ब रुपैयाँभन्दा बढीको माग दाबी परेको छ । कूल ३२ हजार बचतकर्ताबाट ११ अर्ब रुपैयाँ मागदाबी परेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्यसचिव केशवप्रसाद पौडेलले बताएका छन् ।
सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि समितिले अनलाइनमार्फत दाबी पेस गर्न बचतकर्तालाई भनेको थियो ।
सहकारीका अध्यक्ष सहकारीको ठूलो रकम अपचलन गरेको भेटिएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत भदौ २५ गते शिव शिखरलाई समस्याग्रस्त घोषणा गरेको थियो ।
बचतकर्ताको अर्बौ रुपैयाँ अपचलन गर्ने सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा अहिले थुनामा छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो ।
शर्माले सहकारीको बचत रकम अपचलन गरी साढे ५ अर्बभन्दा बढी विभिन्न बैंकबाट कर्जा लिएको पाइएको छ। उनले सहकारीको रकम दुरुपयोग गरी महंगो गाडी किनेका थिए ।
समितिले शिव शिखर बहुउद्देश्यीय सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिनको समय दिएका छ । शिवशिखर बहुउद्देश्यीय सहकारी कौशलटार, भक्तपुरमा मुख्य कार्यालय रही देशभर ३५ जिल्लामा रहेका शाखा कार्यालय मार्फत १ लाख ६८ हजार ७ सय २५ निक्षेपकर्ता सदस्यको १० अर्ब ७७ करोड ७६ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ।
समितिले ललितपुरको मानभवनमा रहेको सहकारी पशुपति सेभिसेभिङ्ग एण्ड क्रेडिटको अपरेटिभ लिमिटेड,, विराटनगरमा रहेको सहकारी तुलसी बहुमुखी, महाराजगञ्जमा रहेको हाम्रो नयाँ कृषि सहकारी, ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी र काठमाडौैँको मिनभवनमा रहेको सहकारी कान्तिपुर सेभिङ्ग क्रेडिटका ॠणीहरुलाई ॠण तिर्न भनेको छ ।
ॠणीहरुलाई ३५ दिन भित्र समितिको कार्यालयमा उपस्थित भई राफसाफ गर्न भनेको छ । उक्त समयभित्र राफसाफ नगरे सहकारी ऐन अनुसार कारबाही गरिने उल्लेख छ ।
ॠणीले ॠण राफसाफ नगरे ॠणीको कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुमा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालो सूचीमा राख्ने भनेको छ ।