काठमाडौं । सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेका प्रहरीले जनाएको छ ।
अत्याधुनिक हतियार सहित अदालत प्रवेश गर्न खोज्दा उनलाई त्यहाँ कार्यरत सुरक्षाकर्मीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले सुनौलो नेपाललाई जानकारी दिए । निज खड्काबाट प्रहरीले बरामद गरेको हतियार देखेर नेपाली सेना समेत अचम्मित परेको छ ।
नेपाली सेनाका एक जना उच्च सैनिक अधिकृतले भने, “यो हतियार नेपालमा छैन, हामी पनि अचम्ममा परेका छौं, यस्तो अत्याधुनिक हतियार कसरी र कहाँबाट नेपाल भित्रियो ?” उक्त हतियार जर्मन: Maschinenpistole 5) एमपी फाइभ गन भएको र उक्त हतियारमा ९ एमएमको गोली लाग्ने सैनिक स्रोतले बतायो ।
सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेका बेला निज खड्का उक्त हतियार सहित प्रवेश गर्न खोजेका थिए । खड्का दुर्गा प्रसाईको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका बताइएको छ ।