काठमाडौँ । सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङका चार परीक्षा केन्द्रमा एसईई दिएर बाहिरिने क्रममा विद्यार्थी माथि कुटपिट भएको छ ।
जिल्लाको खप्तडछान्ना गाउँपालिका–५ को खप्तड मावि परीक्षा केन्द्रमा परीक्षा दिएर फर्कने क्रममा खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलका १८ वर्षीय खपिस थापा माथि कुटपिट भएको प्रहरीले जनाएको छ । थापा माथि खप्तडछान्ना गाउँपालिका–५ का बालकेश सिंह र आनन्द सिंहको समूहले कुटपिट गरेको आरोप लागेको छ ।
उनीहरुले परीक्षा दिएर परीक्षा केन्द्रबाट बाहिर निस्केका थापाको टाउको, हात, पेटमा चक्कु प्रहार गरी फरार भएको र फरारमध्ये एक जना पक्राउ परेको र अन्य फरार रहेको प्रहरीले जनाएको छ । यसैगरी उता दुर्गाथली गाउँपालिकामा पनि एसईई दिएर फर्कने क्रममा दुई जना विद्यार्थीमाथि कुटपिट भएको छ ।
आज अन्तिम दिनको परीक्षा दिएर फर्कने क्रममा दुर्गाथली गाउँपालिका–१ मोरीबगरमा छविस पाथिभेराम गाउँपालिकाका–१ का अभिषेक भण्डारी र खप्तडछान्ना गाउँपालिका–२ का बिमल बोगटी माथि कुटपिट भएको प्रहरीले जनाएको छ ।
भण्डारी र बोगटीलाई दुर्गाथली गाउँपालिका–१ का प्रकाश खाती लगायत तीनचार जनाको समूहले हातपात गरेको आरोप लागेको छ ।
कुटपिटबाट दुवै जनाको टाउकोमा चोट लागेको र अहिले उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
कुटपिट गर्ने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उता आज नै मष्टा गाउँपालिकाको भातेखोलामा रहेको कुलमष्टजन मावि परीक्षा केन्द्रमा परीक्षा दिएर फर्किने क्रममा मष्टा गाउँपालिका–६ का मुन्ना बोहरामाथि पनि कुटपिट भएको छ ।
बोहरालाई बिमल बुढा, बादल बुढा लगायतको समूहमा आएका केटाहरुले हातपात गरेका आरोप छ । कुटपिटबाट बोहराको अनुहारमा चोट लागेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए ।
यस्तै तल्कोटको दुर्गाभवानी माविमा पनि एक युवतीको विषयलाई लिएर विद्यार्थीबीच हात हालाहाल भएको प्रहरीले जनाएको छ ।