काठमाडौँ – अमेरिकामा हिन्दु मन्दिर पुर्ननिर्माणका लागि एक नेपालीले एक लाख एघार हजार डलर अर्थात झण्डै डेढ करोड रुपैयाँ भन्दा बढी रकम दान गरेका छन् । नेपालका लागि अमेरिकाको मेरिल्यान्ड राज्यका पर्यटन प्रवद्र्धक राजु पराजुलीले हिन्दु–बुद्ध मन्दिर पुर्ननिर्माणका लागि एक लाख एघार हजार एक सय एघार अमेरिकी डलर दान गरेका हुन् ।
मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको हिन्दु–बुद्ध मन्दिर पुर्ननिर्माणका लागि प्रख्यात वाचक पण्डित दिनबन्धु पोखरेलले मार्च ३० देखि अप्रिल ६ सम्म लगाएको महायज्ञमा पराजुलीले सो दान गरेका हुन् । महायज्ञबाट २० लाख अमेरिकी डलर दान संकलन गरिएको महायज्ञ व्यबस्थापन समितिले जनाएको छ ।
यो मन्दिर निर्माणमा पनि पराजुलीले यसअघि ६ हजार ६ सय अमेरिकी डलर दान गरेका थिए । महायज्ञमा पराजुलीले आफ्ना पिता तेजबहादुर पराजुली, आमा केशरकुमारी पराजुली एवं पत्नी अनु पराजुली (कमला) र छोराहरु सुरज र सुदीप पराजुलीको उपस्थितिमा उक्त धनराशीको दान घोषणा गरेका हुन् । उनले गरेको दानबाट मन्दिरमा स्थापित शिवलिंग परिसरको पुनर्निर्माण हुनेछ । परिसर निर्माणमा लागेको खर्च र पहिले दिईसकेको दानमा बाँकी रकम जोडेर कबोल गरेको दान पुरा गर्ने पराजुलीले बताएका छन् ।
मन्दिरमा नेपालीहरुको आस्था जोडिएकाले आफूले सहयोग गरेको पराजुलीले बताए । मन्दिर यहाँको नेपाली समाजको आस्थाको केन्द्रका रुपमा रहँदै आएको छ । आफ्नो आस्था र नेपाली समाजलाई जोड्ने संस्था भएकाले मन्दिरलाई मैले दान गरेको हुँ । पराजुलीले भने । महायज्ञमा दान घोषणा कार्यक्रममा पराजुलीकी पत्नी अनु पराजुलीले विदेशी भूमिमा आफ्नो धर्मको रक्षा गर्नका लागि पारिवारिक सल्लाहमा दान गरिएको बताइन् ।
एनआरएन अमेरिकाको मेरिल्यान्ड च्याप्टरका निवर्तमान अध्यक्ष पराजुली यसअघि डेनभर राज्यका लागि नेपालका पर्यटन दूत समेत थिए । उनले मेरिल्यान्डमा रेष्टुरेन्ट, लिक्वेर सप र ग्यास स्टेसन लगायत आधा दर्जन व्यवसाय संचालन गर्दै आएका छन् । विगत २५ वर्षदेखि पर्यटन र हस्पिटालिटी व्यवसायमा आवद्ध पराजुलीले यसअघि नेपाल, भारत, दुबई, अष्टे्लिया र ग्रिसका पाँच तारे होटलहरुमा सेफका रुपमा पनि काम गरेका थिए ।
बाल्टिमोरमा रहेका नेपालीहरुले दुई सय ४० रोपनी जग्गा किनेर हिन्दु–बुद्ध मन्दिर बनाएका हुन् । मन्दिरका लागि सन् २०१८ मा पनि महायज्ञबाट आर्थिक संकलन गरिएको थियो । त्यसबेला १५ लाख अमेरिकी डलर संकलन गरिएको थियो । सो रकमबाट मन्दिरका कानुनी, प्राविधिक र भौतिक निर्माणका काम सम्पन्न गरिएको मन्दिरका संस्थापक मध्येका एक क्रिस घिमिरेले बताए । महापुराणको पहिलो दिन आयोजना गरिएको कलश यात्रामा चार हजारभन्दा बढी नेपाली उपस्थित थिए ।