हनोई,एएनआई । रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय धोकाधडीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको अल जजिराले बताएको छ ।
सन् २०१२ र २०२२ को बीचमा ६७ वर्षीया ल्यानले गैरकानूनीरूपमा साइगोन ज्वाइन्ट स्टक कमर्सियल बैंकको व्यवस्थापन गर्दा हजारौँ फर्जी फर्महरूमार्फत रकम लुटेको र सरकारी अधिकारीहरूलाई घुस खुवाएको आरोप लगाइएको छ।
अभियोजकहरूले उनको एक हजारभन्दा धेरै सम्पत्ति जफत गरेको दाबी गर्दै संदिग्ध सम्पत्तिको विनियोजन राशि सन् २०२२ मा भियतनामको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब तीन प्रतिशत बराबर रहेको बताएका छन् ।
ल्यानले आफूमाथि लगाइएको आरोपहरूको खण्डन गरेकी थिइन् । अल जजिराका अनुसार उनले गत साता अदालतमा आफ्नो अन्तिम बयानमा आत्महत्याको विचार आएको कुरा स्वीकार गरेकी थिइन् ।
यो अहिलेसम्म भियतनाममा भएको सबैभन्दा चर्चित सुनुवाइ हो। यो मुद्दा विश्वभरिकै एउटा ठूलो बैंक ठगीसँग सम्बन्धित छ। हो ची मिन्ह सिटीमा एउटा उपनिवेशकालीन भवनमा अहिले अदालत छ।
अदालतको पहेँलो प्रवेशद्वारभित्र भियतनामको एउटा ठूलो बैंकलाई ११ वर्षभन्दा बढी समय लुटेको अभियोग खेपेकी एक ६७ वर्षीया महिलालाई कठघरामा उभ्याइयो। ती महिला घरजग्गा कारोबारी हुन्।
यो मुद्दामा प्रस्तुत आँकडा अत्यास लाग्ने खालका छन्। ट्रूङ मी लानले साइगन कमर्शल बैंकबाट ४४ अर्ब डलर ऋण लिएको दाबी गरिएको थियो।
अदालतले उनलाई २७ अर्ब डलर फिर्ता गर्न आदेश दिएको छ। तर अभियोजनकर्ताहरूले त्यो रकमध्ये २७ अर्ब डलर कहिल्यै पनि उठ्न नसक्ने आशङ्का व्यक्त गरेका छन्।
सरकारी सञ्चारमाध्यमका अनुसार उनले भनिन्, “मेरो निरासामा मैले मृत्युको बारेमा सोचेँ, मलाई थोरै ज्ञान भएको अत्यन्त प्रतिस्पर्धी उद्योग बैंकिङ क्षेत्रमा प्रवेश गर्ने साहस गरेकामा मलाई अत्यन्त रिस उठेको छ ।”
प्रमुख डेभलपर वान थिन्ह फाटका अध्यक्ष ल्यानलाई बिहीबार हो चि मिन्ह सिटीमा सुनुवाइको अन्त्यमा घोटाला, घुसखोरी र बैंकिङ नियमहरूको उल्लङ्घन गरेको दोषी पाइएको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अल जजिराले बताएको छ ।
गत वर्ष सन् २०२२ मा ल्यानको गिरफ्तारी सन् २०१६ मा सुरु भएको भ्रष्टाचारविरोधी अभियानमा सबैभन्दा हाई–प्रोफाइल गिरफ्तारीमध्येको एक थियो । सन् २०२२ पछि उक्त अभियानले गति लिएको छ ।
कथित ब्लेजिङ फर्नेस अभियानको परिणामस्वरूप सयौँ अधिकारीहरूलाई दण्डित वा कारागार सजाय गरिएको छ । यसबाट भियतनामी राजनीतिमा उच्च तहलाई असर गरेको छ । यसमा दुई राष्ट्रपति र दुई प्रधानमन्त्रीको राजीनामा पनि समावेश छ ।
ऋण लिएर घरमा थुपारेको आरोप
लिइएको ऋणको परिमाण पनि छक्क पार्ने खालको छ। उक्त बैंकले प्रवाह गरेको ऋणको ९३ प्रतिशत उनले लिएको देखिन्छ।
अभियोजकहरूका अनुसार सन् २०१९ को फेब्रुअरीदेखि तीन वर्षको अवधिमा उनले आफ्ना चालकलाई ४ अर्ब डलरभन्दा बढी रकम बैंकबाट निकाल्न लगाएकी थिइन्। त्यो रकम उनको घरको भुइँतलामा थुपारिएको थियो।
भियतनामको सबैभन्दा ठूलो बैंक नोटबाट त्यति रकम निकाल्दा पनि त्यसको कुल तौल दुई टन हुने बताइन्छ।
आफ्नो ऋणमाथि कहिल्यै पनि अनुसन्धान नगरियोस् भन्ने सुनिश्चित गर्न घुस खुवाएको आरोप पनि उनीमाथि छ।
केन्द्रीय बैंकका एक प्रमुख निरीक्षणकर्तालाई पनि उनीसँग मिलेमतो गरेको अभियोग लागेको छ। उनले ५० लाख डलर घुस लिएको भन्दै आजीवन कारावासको सजाय माग गरिएको छ।
ट्रूङ मी लान को हुन् ?
ट्रुङ मी लान सन् २०११ सम्म हो ची मिन्ह सिटीमा चर्चित व्यापारीका रूपमा स्थापित भइसकेकी थिइन्। उनले आर्थिक सङ्कट खेपेका तीनवटा साना बैंक गाभेर एउटा ठूलो साइगन कमर्शल बैंक बनाउने अनुमति पाएकी थिइन्।
भियतनामको कानुनले कुनै पनि व्यक्तिलाई कुनै पनि बैंकमा पाँच प्रतिशतभन्दा बढी सेयर राख्न प्रतिबन्ध लगाउँछ। तर अभियोजकहरूका अनुसार सयौँ सेल कम्पनीु खडा गरेर र नक्कली मानिसहरू उभ्याएर उनले साइगन कमर्श बैंकको ९० प्रतिशत भन्दा बढी स्वामित्व आफूसँग राखेकी थिइन्।
अभियोजकहरूले उनलाई आफ्नो शक्तिको प्रयोग गरेर आफू निकटका व्यक्तिहरूलाई व्यवस्थापक नियुक्त गरेको आरोप लगाएका छन्। त्यसबाहेक आफ्नो नियन्त्रणमा रहेका सेल कम्पनीहरूबाट सयौँ ऋण स्वीकृत गराउन भूमिका खेलेको आरोप पनि उनलाई लागेको छ।
ट्रूङ मी लान हो ची मिन्ह सहरमा बसोबास गर्ने चिनियाँ मूलको भियतनामी परिवारबाट आएकी हुन्। पहिला साइगन भनिने उक्त सहरमा चिनियाँ मूलका मानिसहरूको ठूलो उपस्थिति छ। कम्युनिस्टविरोधी दक्षिण भियतनामको राजधानी भएको समयदेखि नै उक्त सहर देशको अर्थतन्त्रको मुख्य इन्जिन हो।
उनले आफ्नी आमासँगै बजारमा शृङ्गारका सामान बेचिन्। कम्युनिस्ट पार्टीले ‘दोई मोई’ नामक आर्थिक सुधार थालेदेखि सन् १९८६ मै उनी घरजग्गा किन्न थालिन्। सन् १९९० को दशकमा धेरै होटल र रेस्टुराँहरू उनको स्वामित्वमा थिए।