logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एक महिनामा जनक शिक्षाले गर्यो १८ करोड ६७ लाखका पाठ्यपुस्तक बिक्री

    एक महिनामा जनक शिक्षाले गर्यो १८ करोड ६७ लाखका पाठ्यपुस्तक बिक्री

    533
    Shares

    जनकपुरधाम । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत एक महिनामा १८ करोड ६७ लाख रुपैयाँ मूल्य बराबरको पाठ्यपुस्तक बिक्री गरेको छ ।

    नयाँ शैक्षिक सत्र तथा विद्यार्थी भर्ना अभियान २०८१ अन्तर्गत सो कार्यालयले उक्त मूल्य बराबरको पाठ्यपुस्तक बिक्री वितरण गरेको हो । गत चैत १३ गतेबाट किताब बिक्री सुरु गरेको सो कार्यालयले हालसम्म १३ लाख ५१ हजार थान पाठ्यपुस्तक बिक्री गरेको हो ।

    कार्यालय प्रमुख रुद्र खनालले नयाँ शैक्षिक सत्र सुरु भएपछि कार्यालयले आफ्ना थोक बिक्रेतालाई सहजरुपमा पाठ्यपुस्तक उपलब्ध गराइरहेको छ । कार्यालयले गतवर्ष विद्यार्थी भर्नाका समयमा २७ करोड ६० लाख रुपैयाँ मूल्य बराबरको २१ लाख थान पाठ्यपुस्तक बिक्री वितरण गरेको थियो ।

    अहिले सो कार्यालयमा सात करोड १४ लाख रुपैयाँ मूल्य बराबरको छ लाख २४ हजार थान पुस्तक मौज्जात रहेको उनले जानकारी दिए । कार्यालय प्रमुख खनालले यस वर्ष पुस्तकको अभाव नहुने जानकारी दिए । सुरु सुरुमा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक बिक्री गरिए पनि पछिल्ला समय मधेसका जिल्लामा समयमा पाठ्यपुस्तक बिक्री वितरण गरिएको हो ।

    सो कार्यालयले आफ्ना सूचीकृत भएका ८२ पुस्तक बिक्रेतामार्फत कक्षा ५ देखि कक्षा १२ सम्मका पुस्तक बिक्री वितरण गर्दैआएको छ । कार्यालयले ओखलढुङ्गा, खोटाङ, उदयपुर, सिन्धुली तथा मधेस प्रदेशका जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गराउँदै आएको जनाएको छ ।

    स्थानीय पालिकाले सो पुस्तकको रकम सम्बन्धित विद्यालयलाई उपलब्ध गराउने तथा विद्यालयले उक्त पुस्तक आफ्ना विद्यार्थीलाई निशुल्क उपलव्ध गराउँदै आएको छ । सरकारले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराए पनि कतिपय विद्यालयले अभिभावकसँग रकम लिएर पुस्तक दिने गरेको गुनासोसमेत उठ्न थालेको जनाइएको छ ।

    कार्यालय प्रमुख खनालले आफू नियमन गर्ने निकाय नभए पनि तोकिएको मूल्यभन्दा बढीमा पाठ्यपुस्तक बिक्री गरेको पाइएमा त्यस्ता बिक्रेतालाई कालोसूचीमा राखी कारबाही गरिने जानकारी दिए । अहिले मधेसका केही जिल्लामा निजी विद्यालयले ‘कमिसन’को लोभमा तोकिएको पसलबाट पुस्तक तथा पोसाक खरिद गर्न लगाउने गरेको अभिभावकको गुनासो रहेको पाइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend