काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएको बताएका छन् । शुक्रवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा पर्यटक आगमनको उल्लेख्य वृद्धि भएको बताए ।
उनले हालै सम्पन्न लगानी सम्मेलनमा उत्साहवद्र्धक रुपमा विदेशी लगानीकर्ताहरुको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको उल्लेख गरे । उनले आफूले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति र अहिलेको देशको आर्थिक स्थितिमा धेरै सुधार भएको जिकिर गरे । उनले शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक दिशातिर अघि बढेको बताए । उनले वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको बताए । उनले सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार शुरु गरिएको बताए ।
उनले भने, ‘मैले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति के थियो ? तपाईं हामी कुन सन्त्रासमा गुज्रिएका थियौँ भन्नेकुरा हामी सबैलाई थाहा छ । तर अहिले क्रमशः सुधार आइसकेको छ । शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक दिशातिर अघि छन् । वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको छ । बैंकको ब्याजदर घटाइएको छ । लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको छ । सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार गरिँदैछ । नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएका छन् । नेपालमा पर्यटक आगमनको उल्लेख्य वृद्धि भएको छ । भर्खरै हामीले सम्पन्न गरेको लगानी सम्मेलन र त्यहाँ उत्साहवद्र्धक झन्डै ६० देशका प्रतिनिधिहरुको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको छ ।’
प्रधानमन्त्री दाहालले मिडिया सम्बन्धी कानून निर्माणको प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले सरकारले सञ्चार क्षेत्रको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवद्र्धन गर्ने नीति लिएको बताए । उनले ज्येष्ठ पत्रकार, अपाङ्गता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गर्न लागेको जानकारी दिए । उनले प्रेस स्वतन्त्रतामाथि कुनैपनि किसिमको नियन्त्रण वा अंकुश हुन नदिने प्रतिवद्धता पनि जनाए ।
उनले भने, ‘मिडिया सम्बन्धी अनेक कानून निर्माणको प्रक्रियालाई पनि सरकारले प्राथमिकतामा राखेको छ । सरकारले सञ्चार क्षेत्रको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवद्र्धन गर्ने नीति लिएको छ । सरकारले पूर्वप्रवाह गर्ने सबै सरकारी विज्ञापन न्यायिक ढंगले वितरण गर्ने व्यवस्था गरेको छ । ज्येष्ठ पत्रकार, अपाङ्गता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिँदैछ । प्रेस स्वतन्त्रतामाथि कुनैपनि किसिमको नियन्त्रण वा अंकुश हुन दिइने छैन । मिडियासँग सम्बन्धित विधेयकमा केही प्रश्नहरु तपाईंहरुले उठाइसकेपछि मैले त्यसलाई अहिले रोकेर फेरि पत्रकारहरुसँग छलफल गरी त्यसको सम्बोधन गरी नयाँ विधेयक लैजानुपर्छ भनेर रोकेको छु ।’
प्रधानमन्त्री दाहालले नेपालको प्रेस जगत सधैँ परिवर्तनको पक्षमा उभिने गरेको उल्लेख गर्दै कतिपय आन्दोलनमा प्रत्यक्ष सरिक र कतिपय एजेण्डामा प्रेस जगतले ऐक्यवद्धता व्यक्त गर्दै आएको बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवं समाजको रुपान्तरण र जनताको अधिकार प्राप्तिका निम्ति नेपाली प्रेस जगतले महत्वपूर्ण योगदान गरेको बताए ।