काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य भीम रावलले मन्त्री परिषद वैठकले आज पारित गरेको अध्यादेश अनिष्टकारी भएको बताउदै तत्काल खारेज गर्न माग गरेका छन् ।
सरकारले ल्याएको राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै यसले वाह्य हस्तक्षेप बढाउने र देशमा अनिष्ट ल्याउने भन्दै नेता रावलले आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेखेका छन्, ‘‘कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकतावद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशका लागि अनिष्टकारी हो ।
देशमा राजनीतिक स्थायीत्व र कायम गरी बाह्य चलखेल बन्द गर्ने द्येयले राजनीतिक दलका बीच निकै लामो छलफल र परामर्शपछि सहजै पार्टी फुटाउन नसकिने गरी राजनीतिक दल सम्बन्धी कानुन ल्याइएको थियो । त्यसै गरी तत्कालिन नेकपा एमालेको निकै ठूलो प्रयासपछि संवैधानिक परिषदमा विपक्षी दलको नेता रहने धारणाले संविधानमा स्थान पाएको थियो ।
यसका विरुद्ध ल्याइएका यी दुबै अध्यादेशले देशलाई पुन राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरण तर्फ धकेल्ने खतरा उत्पन्न भएको छ । यस्ता अनष्टिकारी अध्यादेश खारेज हुनुपर्छ ।’