
काठमाडौं । व्यावसायिक प्रतिष्ठान जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले सञ्चालन गरिरहेको विजय डिष्टिलरीको मदिरा व्यापार बढेको छ । एक वर्षमा डिष्टिलरीले २ अर्ब १२ करोड ९० लाख रुपैयाँको मदिरा व्यापार गरेको छ ।
२०२२ मा विजय डिष्लिरीले २ अर्ब ८ करोड ५० लाख रुपैयाँको मदिरा व्यापार गरेको थियो । एक वर्षको अवधिमा विजयको मदिरा व्यापार २ प्रतिशत मात्र बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
२०२१ मा विजय डिष्टिलरीले २ अर्ब ६७ करोड ८० लाख, २०२० मा १ अर्ब ५४ करोड ४० लाख र २०१९ मा ८२ करोड ५० लाख रुपैयाँको मदिरा व्यापार गरेको थियो । उद्योगसँग हाल ब्राउन र सेतो स्पिरिट खण्डसहित ११ वटा ब्रान्डहरूको पोर्टफोलियो छ । जसमा ब्राउन स्पिरिटको छ वटा स्वदेशी ब्रान्ड, चार घरेलु र सेतो मदिराको एक अन्तर्राष्ट्रिय ब्रान्ड रहेको छ ।
घरेलु खैरो र सेतोमा कम्पनीको अग्रणी उत्पादनहरू क्रमशः गोल्डेन ओक व्हिस्की र ब्लू डायमन्ड जिन राम्रो ब्राण्ड बनेको छ । यी दुई उत्पादनहरूले २०२३ मा कुल व्यापारको ६८ र २०२२ मा ८८ प्रतिशत हिस्सा रहेको कम्पनीले जनाएको छ ।
लुम्बिनी प्रान्तको परासीमा ब्लेन्डिङ र बोटलिङ प्लान्ट रहेको छ । मुलुकभर २ सय ४० वितरण च्यानल रहेका छन् ।
विजय डिष्टिलरीले ७३ करोड ८८ लाख रुपैयाँ ऋण लिएको छ । सन २०२२ मा ग्रुपले १६ अर्ब ९८ करोड ९० लाख रुपैयाँ बराबर मदिरा व्यापार गरेको छ । २०२१ मा कम्पनीले १४ अर्ब ५० करोड २७ लाखको मदिरा व्यापार गरेको थियो।
सन् २०१६ मा जावलाखेल ग्रुपले मदिरा व्यापारका लागि जेजिआई स्थापना गरेको थियो। जेजिआईले जावलाखेल ग्रुपअन्तर्गतका हिमालयन डिस्टिलरी लिमिटेड, विजय डिस्टिलरी, एसियन डिस्टिलरी र रोलिङ रिभर डिस्टिलरीले उत्पादन गरेका विभिन्न ब्रान्डको मदिराका साथै राज ब्रुअरीको बियर बिक्री वितरण गर्दै आएको छ ।
सन् १९७३ मा विजयबहादुरले जावलाखेल डिस्टिलरी स्थापना गरेर मदिरा व्यवसायमा प्रवेश गरेका थिए। उनले पहिलोपटक सेतो मदिरा रुस्लान भोड्का उत्पादन सुरु गरेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend