logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकार र दलहरुको सहयोग बिना त्रिविको अतिक्रमित जग्गा फिर्ता गर्न सकिँदैनः उपकुलपति बराल

    सरकार र दलहरुको सहयोग बिना त्रिविको अतिक्रमित जग्गा फिर्ता गर्न सकिँदैनः उपकुलपति बराल

    833
    Shares
    सरकार र दलहरुको सहयोग बिना त्रिविको अतिक्रमित जग्गा फिर्ता गर्न सकिँदैनः उपकुलपति बराल

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले सरकार र राजनीतिक दलको सहयोग बिना विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न नसकिने बताएका छन् ।

    आईतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै उपकुलपति बरालले विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न सरकार र राजनीतिक दलहरुको सहयोग चाहिने बताएका हुन्।

    उनले विश्वविद्यालयले आफ्नो सम्पती संरक्षण गर्न चाहेको भएपनि विश्वविद्यालय एक्लैको प्रयासले त्यसो गर्न नसकेको बताए । त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमणमा राजनीतिक दलका स्थानीय तहदेखि माथिल्लो तहका नेताहरु समेत जोडिएका भन्दै उनीहरुबाट फुत्काएर ल्याउन विश्वविद्यालय एक्लैले नसक्ने बताए । सर्वोच्च अदालतले समेत त्रिभुवन विश्वविद्यालयको जग्गाको सम्बन्धमा फैसला गर्दा पनि कार्यान्वयन हुन नसकेको अवस्था रहेको उनको भनाई छ । उनले पोखरा विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरुको अवस्था पनि त्यस्तै रहेको बताए ।

    उनले भने, ‘विश्वविद्यालयले सम्पतीको संरक्षण गर्न नचाहेको होइन । तर विश्वविद्यालयले मात्रै यसको संरक्षण गर्न नसक्ने अवस्थामा छ । कयौँ केसहरु राजनीतिक दलका केही स्थानीय तहका होस् अथवा माथिल्लो तहमा जोडिएको छ । कहीँ न कहीँ राजनीतिक दलहरु जोडिएका छन् ।

    त्यसैले सरकार र राजनीतिक दलको सहयोग बिना हामीले आफ्नो नाममा भएको जग्गा विश्वविद्यालयमा ल्याउन सक्दैनौँ । १२५ रोपनी जग्गा सर्वोच्चले त्रिभुवन विश्वविद्यालयको हो भनेर भनेको छ । त्यहाँ हाम्रो जग्गाको खरिद, बिक्री हुन्छ रे । त्यहाँ पक्की घरहरु बनेको छ । यो अवस्था छ । पोखरा विश्वविद्यालय, टिकापुर, संस्कृतको अवस्था त्यस्तै छ ।’

    उपकुलपति बरालले विश्वविद्यालयको परीक्षालाई विकेन्द्रिकरण गर्ने बताए । उनले कापिलाई सम्बन्धित प्रदेशमा संकलन गरेर सम्बन्धित प्रदेशमै परीक्षण गरेर विद्यार्थीहरुलाई छिटोभन्दा छिटो नतिजा दिनेगरी काम शुरु गरिएको बताए । उनले परिक्षाको सम्बन्धमा आइटी प्रविधिको प्रयोग गर्न शुरु गरिएको पनि बताए ।

    उनले भने– ‘मेरो प्राथमिकतामा नै एक नम्बरमा शैक्षिक पात्रो तयार गर्ने र त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भन्नेकुरा छ । हामीले त्यही अनुसार काम गरिरहेका छौँ । परीक्षामा हाम्रो संरचना अधिराज्यभरी छ । क्षेत्र–क्षेत्रमा, प्रदेश–प्रदेशमा परिक्षा सञ्चालन गर्ने र कापी संकलन गर्ने सबै संरचना छ । म सँग प्लान ए मा हामीले अहिले मौजुदा व्यवस्था अनुसार, नीति अनुसार, हामीले परीक्षालाई विकेन्द्रिकरण गर्ने भन्ने मेरो एउटा प्लान यही हो ।

    जस्तो: पोखरामा छ, त्यताको कापि त्यतै संकलन गर्ने र त्यतै परिक्षण गर्ने । विराटनगरको कापी त्यतै संकलन गर्ने र त्यतै परीक्षण गर्ने । अहिलेको परिस्थितिमा एउटा कापि तीन÷चारचोटी हिँड्छ । हाम्रो नीतिगत रुपमा विकेन्द्रिकरण भएतापनि व्यवहारमा विकेन्द्रिकरण भएको छैन ।

    त्यसैले प्लान ए विकेन्द्रिकरण गर्ने र त्यसमा विद्यार्थीहरुलाई सेवा सुलभ तरिकाले छिटो, छरितो दिनकालागि आइटीको प्रयोग गर्ने । अहिले आइटीको प्रविधिलाई हामीले परिक्षामा प्रयोग गरिरहेका छौँ । परिक्षालाई विकेन्द्रीकरण गर्नेतिर हामी लागिराखेका छौँ । अहिलेको परीक्षादेखि विकेन्द्रिकरण गरिराखेका छौँ ।’

    उपकुलपति बरालले शिक्षालाई उत्पादन र श्रम बजारसँग जोड्ने गरी शैक्षिक कार्यक्रम ल्याइने पनि बताए । उनले त्रिभुवन विश्वविद्यालयले बजारको माग अनुरुप कार्यक्रमहरु दिन नसकेको स्वीकार्दै उनले आगामी दिनमा बजारको माग अनुरुपको शिक्षा दिने उल्लेख गरे ।

    उनले भने, ‘हाम्रो शिक्षा उत्पादनसँग जोडिएन । हाम्रो शिक्षा आउडेटेड भयो भन्ने बजारमा अपेक्षा लाग्ने गरेको छ । नियालेर हेर्दा हाम्रो कयौँ पाठ्यक्रम समयको माग अनुसार अपडेट नहुने । र बजारले मागेको विषयमा हामीले कार्यक्रमहरु सञ्चालन नभएको यर्थाथ हो ।

    त्यसलाई निदान गरेर मैले विश्वविद्यालयमा भएका पाठ्यक्रमहरुलाई श्रम बजार र सरोकारवालाहरुसँग छलफल गरेर पाठ्यक्रमलाई अपडेट गर्ने काम गर्ने र त्यसपछि बजारले मागेको जनशक्ति उत्पादन गर्नको निम्ति नयाँ नयाँ कार्यक्रमहरु सञ्चालन गर्ने भन्ने कुरा मैले योजनामा राखेको छु । त्यसरी विश्वविद्यालयलाई लैजानुपर्छ भन्ने मेरो मान्यता हो ।

    उदाहरणको निम्ति माउन्टेरिङ स्टडीका लागि संसारका मान्छेलाई हामीले आकर्षण गर्नसक्छौँ तर हामीकहाँ माउन्टेरिङ स्टडीका लागि कुनै कार्यक्रम छैन । नेपाल सरकारको शिक्षा नीति २०७६ मा पनि यस्ता किसिमका विश्वविद्यालय प्राथमिकताका साथ सञ्चालन गर्नुपर्छ भन्ने छ ।

    त्यसैले मेरो कार्यकालमा पूर्ण रुपमा सबै कार्यक्रम सञ्चालन गर्न नसकेपनि हामीले त्यसलाई सुचारु गर्नुपर्छ भनेर स्कुल अफ माउन्टेन स्टडी खोल्ने भनेर योजनामा राखेको छु । काम गरेर कमाउ र पढ भन्ने अवधारणामा पनि कार्यक्रमहरु समावेश गरेको छु । पर्यटन उद्योगलाई फस्टाउनका लागि आवश्यक जनशक्ति छैन । होटल म्यानेजमेण्ट, होटल व्यवसायीहरुसँग मिलेर उनीहरुकै होटललाई प्रयोग गरेर एउटा कार्यक्रम सञ्चालन गर्ने भन्ने योजनामा राखेको छु ।’

    उनले विश्वविद्यालयको संरचनागत सुधार गर्न लागिपरेको बताए । चार वर्षे स्नातकलाई तीन वर्षेमा झार्ने र विदेश जानेहरुका लागि थप एकवर्षे कोर्स दिने तयारी रहेको उनले जानकारी दिए । मानविकि र शिक्षा शास्त्र संकायलाई पुनःसंरचना गर्ने उनले बताए ।

    उपकुलपति बरालले त्रिभुवन विश्वविद्यालयका हरेक पदाधिकारीहरु मापदण्ड बनाएर नियुक्त गर्ने बताए । उनले विश्वविद्यालयले स्थानीय तहहरुसँगको सहकार्यमा स्थानीय तहहरुले नै आर्थिक भार व्यहोर्नेगरी मातृभाषा शिक्षकहरु उत्पादन गर्ने पनि जानकारी दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend