काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादवले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका हुन् । यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।
“आज विहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु”, उनले भनेका छन् ।
उनले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवादसमेत दिएका छन् । यादव दाहाल नेतृत्वको यो सरकारमा २ महिनाअघि उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए। उनी मन्त्रिपरिषदको पाँचौं वरियतामा थिए । जसपा नेपालकै सांसद दीपक कार्की वन तथा जनसंख्या राज्यमन्त्री बनेका थिए। जसपा नेपालका अर्का सांसद नवलकिशोर साह सुडी वनमन्त्री छन्। उनी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा लागेका छन्।
जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवको पार्टी फुटेपछि उनी राजीनामा दिन वाध्य भएका हुन् । आइतबार प्रधानमन्त्री दाहालले बोलाएर यादवलाई राजीनामा गर्न भनेका थिए । त्यसपछि उनले पार्टीको बैठक डाकेर सरकारबाट बाहिरिने निर्णय गरेको थियो।
मधेश प्रदेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिएपछि नयाँ समीकरण सुरु भएको छ । १२ प्रतिनिधिसभा सांसद रहेको जसपा नेपालबाट ७ जना प्रतिनिधिसभा सांसद अलगिएर हालै अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी गठन गरेका छन् । यादव अमेरिका हुँदा उनको पार्टी जसपा नेपाल विभाजित भएको थियो।