logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • १ अर्ब ६८ करोडमा नारायणीमा मुलुककै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माण सुरु

    १ अर्ब ६८ करोडमा नारायणीमा मुलुककै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माण सुरु

    5.9K
    Shares
    १ अर्ब ६८ करोडमा नारायणीमा मुलुककै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माण सुरु

    चितवन । पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिका जोड्ने नारायणी नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण सुरु भएको छ । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका छन् ।

    नेपालमै पहिलो पटक उन्नत प्रविधि (एड्भान्स टेक्नोलोजी) बाट सिग्नेचर ब्रिज निर्माण सुरु भएको हो । सडक विभाग अन्तर्गतको पुल महाशाखाले तुँदी कन्स्ट्रक्सन प्रालिसँग १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ४ सय २० मिटर लामो पुल निर्माण सम्झौता गरिसकेको छ। सम्झौताअनुसार एक वर्षमा डिजाइन तयार र तीन वर्ष निर्माणावधि गरी २०८४ जेठमा नारायणी नदीमा सिग्नेचर ब्रिज तयार हुने भएको छ ।

    सम्झौताअनुसार तुँदी कन्स्ट्रक्सनले डिजाइन बनाइसकेको छ। नेपालमै पहिलो पटक बन्न लागेको फरक डिजाइनको उक्त पुललाई ‘सिग्नेचर ब्रिज’ का रुपमा चिनिनेछ। हाल सञ्चालनमा रहेको पुलसँगै जोडिएर माथिल्लो भागमा बन्ने  सिग्नेचर ब्रिज २ लेनको बन्नेछ।

    हाल बनेका पुलभन्दा १.२ किलोमिटर टाढा अर्को सिग्नेचर निर्माण गर्न महाशाखा आफैंले डिजाइन तयार गरेको हो। विजयपुर नारायणी नदीमा अर्को सिग्नेचर बनाउन आन्तरिक रुपमा डिजाइन बनाउँदै गरेको महाशाखाको भनाइ छ।

    चालू आर्थिक वर्ष २०८०/०८१ को बजेटमा नारायणी र तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण थाल्ने घोषणा गरिएको छ । तिनाउ नदीमा ४ लेनको सिग्नेचर ब्रिज निर्माण हुने भएको छ। यस्तै बागमतीमा पनि सिग्नेचर ब्रिज निर्माण हुने भएको छ। विभिन्न नदीहरुमा एक दर्जन सिक्नेचर ब्रिज बनाउने योजनामा सरकार छ।

    सो अवसरमा प्रधानमन्त्री दाहालले सडक विभागले सरकारको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका आधारमा सडक पूर्वाधारमा सकारात्मक पहल लिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चालू आर्थिक वर्षमा मात्र १ सय ४९ भन्दा बढी पुल निर्माण गरिसकेको बताए।

    “काठमाडौँको नागढुङ्गा सडकको सुरूङमार्गको ‘ब्रेकथ्रु’ भएको छ, त्यसैगरी बहुउद्देश्यीय मरिन डाइभर्सन परियोजनाको पनि भर्खरैमात्र ‘ब्रेकथ्रु’ गरिएको छ”, उनले भने, “यसले देश सुरूङयुगमा प्रवेश गरेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सन्देश दिनुका साथै सन् २०२६ सम्म नेपाल विकासशील मुलुकमा फड्को हान्ने लक्ष्यमा सकारात्मक योगदान पुर्याएको छ ।”

    अहिले सडक विभागअन्तर्गत काठमाडौँको ग्वार्कोमा ‘फ्लाइओभर’को निर्माणकार्य भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदी लगायतका नदीहरूमाथि ‘सिग्नेचर’ पुलहरू निर्माण भइरहेका प्रधानमन्त्री दाहालले जानकारी गराए।

    पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरेका छन्। “सवारी चाप सम्बोधन हुनेछ, यसले सवारी समयको बचत हुनेछ ।

    सबैभन्दा महत्वपूर्ण यसको निर्माणसँगै सडकको ‘कार्यक्षमता’ वृद्धि हुनेछ”, उनले भने, “यस परियोजनाको सम्बन्ध सडक पूर्वाधार र यातायातसँग मात्र सम्बन्धित नभएर पर्यटन प्रवद्र्धन, स्थानीय अर्थतन्त्रको विकास एवं रोजगारी सिर्जनामा मद्दत पुग्नेछ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend