काठमाडौ । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।
सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ ।
सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।
सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ ।
यता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी घोटाला प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै सदन अवरोध गरिरहेको छ ।
समिति गठन नभएसम्म सरकारलाई नीति तथा कार्यक्रम ल्याउन नदिने कांग्रेसको अडानले आजको कार्यक्रम प्रभावित हुन सक्ने देखिएको छ ।