
पेरिस । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोप तथा फ्रान्सको संयुक्त आयोजनामा सम्पन्न नवौं इनास युरोपियन कार्यक्रम अन्तर्गत नवौं युरोपस्तरीय एकल नेपाली नृत्य तथा छैठौं गायन प्रतियोगिता सम्पन्न भएको छ।
नवौँ एकल नृत्य प्रतियोगिताको उपाधि जर्मनीकी मटीना शाक्यले जितेकी छन्। फ्रान्सकी दिलासा भट्ट दोस्रो र नेदरल्यान्ड्सकी अनुष्का टन्डनले तेस्रो स्थान हासिल गरिन्।
छैठौं गायन प्रतियोगिताको उपाधि भने पोल्याण्डका सुशिल बिश्वकर्माले हात पारेका छन्। डेनमार्कका मनिश लिम्बुले दोश्रो र फ्रान्सका कुशल पाख्रिनले तेश्रो स्थान प्राप्त गरे। नृत्य र गायनतर्फ पहिलो हुनेलाई ८ सय युरो, दोस्रो पाँच सय युरो र तेस्रो हुनेलाई ३ सय युरो नगद सहित ट्रफी,मेडल तथा प्रमाणपत्रले सम्मान गरिएको थियो।
बेलायत, डेनमार्क, जर्मनी, फ्रान्स, नेदरल्याण्ड, बेल्जियम, पोल्याण्ड, चेक गणतन्त्र, स्पेन लगायतका मुलुकहरूबाट छनौट भई आएका कलाकारहरुले फाईनल प्रतिस्पर्धामा भाग लिएका थिए।लोक र आधुनिक गरि दुई विधामा आ(आफ्नो प्रस्तुतिहरू दिदै कलाकारहरु प्रतिस्पर्धामा उत्रिएका थिए।
फ्रान्सका लागि नेपाली राजदूत सुधिर भट्टराईले कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली कला र संस्कृतिको जगेर्नाका लागि इनासले खेलेको भूमिकाको प्रशंसा गरे।आयोजक राष्ट्र इनास फ्रान्सका अध्यक्ष आभाष आचार्यको पेरिसमा कार्यक्रम सफल पार्न सहयोग पुर्याउने संघसंस्था लगायत सहयोगदाताहरुप्रति कृतज्ञता व्यक्त गरेका थिए।
उत्कृष्ट कार्यसम्पादनको अवार्ड इनास बेल्जियमलाई
यसैबीच अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ९इनास० युरोप स्तरीय भेला शनिवार पेरिसमा सम्पन्न भएको छ। नृत्य र गायन प्रतियोगीताको अघिल्लो दिन सम्पन्न भएको भेलामा इनासले युरोपमा गर्दै आएका गतिविधिको बारेमा मुख्य चर्चा भएको थियो। भेलामा बेलायत,जर्मनी, पोल्याण्ड, बेल्जियम, चेक गणतन्त्र, डेनमार्क लगायतका राष्ट्रिय समितिहरुले प्रगति विवरण र भावी योजनाहरु प्रस्तुत गरेका थिए।कार्यसम्पादनको आधारमा युरोप भरबाट उत्कृष्ट राष्ट्रिय समितिको अवार्ड इनास बेल्जियमले जितेको छ ।
इनास ग्लोबलका संस्थापक अध्यक्ष पुष्प बरुवालको प्रमुख आतिथ्यता र युरोप संयोजक प्रकाश तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इनासका संरक्षक, सल्लाहकारहरु, आयोजक राष्ट्र फ्रान्स लगायत विभिन्न राष्ट्रिय समितिका अध्यक्ष, तथा पदाधिकारीहरु लगायत फ्रान्स स्थित विभिन्न स्थानीय संघ संस्थाहरुका प्रतिनिधिहरुले यस प्रकारको वृहत कार्यक्रम आयोजना हुदा र कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको विचार ब्यक्त गर्दै कार्यक्रमको सफलताको लागि शुभकामना दिएका थिए ।
इनासको दशौं युरोप क्षेत्रीय भेला तथा युरोप स्तरीय विविध कार्यक्रम आगामी वर्ष डेनमार्कको कोपनहेगनमा गर्ने निर्णय भेलाले गरेको छ।
स्व. सन्त कुमारको सम्झनामा बिशेष सम्मान
इनास युरोपका पूर्व संयोजक स्व।सन्तकुमार थापा मगरको पेरिस कार्यक्रममा सम्झना गरिएको थियो। तीन वर्ष अघि उनको ४१ वर्षको उमेरमा नै निधन भएको थियो।डेनमार्कमा उनको बसाइ भएपनि युरोप भर परिचित थिए सन्त कुमार । युरोपका देशहरुमा पुगेर उनले नृत्य नगरेको सायदै होला।श्रीमती मलिका प्रधानसँगै युगल नृत्य युरोपको नेपाली समुदायले असाध्यै रुचाएको जोडी थियो ।
‘सन्त कुमार थापा मगर बिशेष सम्मान’ ले बेल्जियमकी कलाकार चोक्तेन लामालाई सम्मान गरिएको छ। १५० युरो नगद सहित ट्रफी दिएर कलाकार लामालाई सम्मान गरिएको थियो। नवौं युरोप स्तरीय एकल नृत्य प्रतियोगितामा लामाले सान्त्वना स्थान प्राप्त गरेकी थिइन्।लामालाई प्रदान गरिएको नगद रकम स्व। मगरकी पत्नी मलिका प्रधानले उपलब्ध गराएकी हुन्।
यसैबीच इनास युकेका संरक्षक तथा निवर्तमान अध्यक्ष बेलायत निवासी कलाकार बिनोद चिपालुलाई इनास युरोप क्षेत्रीय समितिले सम्मान गरेको छ। विगत २५ वर्ष देखि परम्परागत लाखे नृत्य मार्फत नेपाली कला सम्वर्द्धन तथा प्रर्वद्धनमा योगदान दिएको भन्दै कलाकार चिपालुलाई सम्मान गरिएको इनासले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend