२८ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेकोमा सत्तारुढ नेकपाले विरोध जनाएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले शनिबार साँझ विज्ञप्ति जारी गर्दै नेपाल-भारतको सीमा विवाद जटिल बनाउने कुनै पनि कदम नचाल्न भारतलाई सचेत गराएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली अर्का अध्यक्ष प्रचण्डले शनिबार जारी गरेको संयुक्त वक्तब्यमा कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेको समयमा यो कार्य हुनु निन्दनीय रहेको बताइएको छ ।
ओली-दाहालको विज्ञप्तिमा लेखिएको छ, ‘भारत सरकारलाई सडक निर्माण कार्य तुरुन्त बन्द गर्न नेकपा आग्रह गर्दछ । साथै भारत सरकारलाई दुई देशबीचको सीमा विवादलाई झन् जटिल बनाउने कुनै पनि कदम नचाल्न सचेत गराउँदछ ।’
नेकपाका अध्यक्षद्वयले नेपाल र भारत सरकारलाई सीमा विवाद कूटनीतिक तवरबाट समाधान गर्न पनि आग्रह गरेका छन् । दुवै मुलुकको सहमतिमा सीमा विवाद समाधान हुनुपर्ने उनीहरूको भनाइ छ । दुवै सरकारका संयन्त्रहरूले सीमा विवाद सल्ट्याउने तर्फ काम गरिरहेको अवस्थामा भारतले नेपाली भूमिमा सडक निर्माण गरेर उद्घाटन गरेकोप्रति उनीहरूले विरोध जनाएका छन् ।
सम्पूर्ण मानव समुदाय कोरोनाको महामारीविरुद्ध जुधिरहेका बेला भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको नेकपा अध्यक्षद्वयको ठहर छ । नेकपाका तर्फबाट जारी विज्ञप्तिमा सो इलाकामा सडक निर्माण कार्य तत्काल रोक्न र समस्यालाई थप जटिल नबनाउन भनिएको छ ।
सुगौली सन्धीसहितका सबै ऐतिहासिक प्रमाण र तथ्यहरुले यो भूमि नेपालकै भएको देखाएको बताउँदै दुई अध्यक्षले भनेका छन्, ‘विदेशमन्त्रीस्तरीय वार्ताका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयले लिएको पहलकदमीअनुसार अविलम्ब वार्ता गर्नुपर्ने नेकपाको ठहर छ ।’
वक्तव्यमा दुवै सरकारलाई वार्ता र कूटनीतिक माध्यमले यो समस्याको समाधान गर्न आग्रह गरिएको छ । साथै नेकपाले सडक निर्माण कार्यलाई तत्काल रोक्न र यो मुद्दालाई जटिल बनाउने कुनै पनि कार्य नगर्न भारतलाई आग्रहसमेत गरेको छ ।
नेकपाले भारतीय हस्तक्षेप बिरुद्ध आधीकारिक धारणा सार्वजनिक गरे पनि यस बिषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस भने मौन छ।