जनकपुरधाम : लकडाउनको ५४ औं दिन शनिबार जनकपुरधामस्थित एक सुनचाँदी पसलबाट लाखौँ मूल्य बराबरको सुनचाँदीका गरगहनाहरु चोरी भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं.८ रामानन्दचोकमा श्याम साहले सञ्चालन गरेको महावीर ज्वेलर्सबाट छतको भेन्टिलेसन फोडेर लाखौंको गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।
पसलमा रहेको सुन र चाँदीले बनेका सबै गरगहना र नगद समेत चोरी भएको पसलका सञ्चालक साहले बताए । आज दिउँसो पसल पुग्दा छतको भेन्टिलेसन फोडेको देखेपछि प्रहरीलाई खबर गरेको साहले जानकारी दिए ।
भेन्टिलेसन सानो रहेकोले त्यसमा बच्चा मात्रै प्रवेश गर्नसक्ने भन्दै उनले आफ्नो पसलमा कुनै बच्चाको प्रयोग गरेर चोरी गरिएको आशंका व्यक्त गरेका छन् । घटनाको बिषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।