logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • डा प्रदीप सापकोटाको अनुभवमा यस्तो छ नेपाल र बेलायतबीच चिकित्सा क्षेत्रमा भिन्नता

    डा प्रदीप सापकोटाको अनुभवमा यस्तो छ नेपाल र बेलायतबीच चिकित्सा क्षेत्रमा भिन्नता

    6.2K
    Shares
    डा प्रदीप सापकोटाको अनुभवमा यस्तो छ  नेपाल र बेलायतबीच  चिकित्सा क्षेत्रमा भिन्नता

    काठमाडौं । वेलायतको वासिल्डन युनिभरर्सिटी अस्पतालमा सघन रोग चिकित्सकको रुपमा कार्यरत डा प्रदीप सापकोटा वेलायतको चिकित्सा क्षेत्रमा परिचित र स्थापित बनिसकेको नाम हो ।

    डा प्रदीपसंग केहि वर्ष नेपालमा चितवन मेडिकल कलेज, भरतपुर सरकारी अस्पताल, सेन्ट्रल अस्पतालमा लगायतका अस्पतालमा काम गरेको अनुभव छ।

    नेपालमा काम गर्दा बिरामीसँग दुख सुख साटासाट गर्ने सबैसंग मित्रभाव प्रकट गर्ने गरीव बिपन्न बिरामीलाई आफैँ आर्थिक सहयोग गरेर उपचार गर्ने अरुको दुखलाई आफ्नै दुख सम्झिने उनले मासीक तलबको करिब ९० प्रतिशतसम्म बिरामीकै सहयोगमा खर्चिने गरेका थिए।

    त्यतिमात्र हैन डा सापकोटाले एकपटक भरतपुर अस्पतालको सघन उपचार कक्षमा कार्यरत रहँदा रगतको आवश्यकता परेका बिरामीलाई आफै रगत दान गरी ज्यान जोगाएको अनुभव समेत उनीसंग छ। नेपालमा आर्थिक अभाव, अशिक्षा र सरकारी सेवामा हुने भ्रष्टचार र बेथितिले अधिकाँश बिरामीले दुःख पाएको सम्झिदा अझै पनि आङ सिरिङ्ग हुने बताउछन ।

    बिरामी मात्र हैन चिकित्सकका लागी समेत नेपालमा काम गर्न कठिन रहेको बताउने उनी भरतपुरमा अस्पतालमा बिरामीको सेवा गर्दागर्दै दुई पटक कोरोनाबाट संक्रमित भएर आफै समेत थालिनु परेको तितो बिगत समेत उनीसंग छ ।

    सघन रोग चिकित्सक डा सापकोटाका अनुसार सघन उपचार भनेको मृत्युको मुखमै पुगेका विरामीलाई जिवन दिने उपचार पद्धती हो। सघन रोग चिकित्सक हुन् पाउँदा आफु निकै खुसी रहेको डा सापकोटा बताछन् ।

    तर ‘कतिपय बिरामीलाई सघन कक्षमा जोगाउन हरसम्भव प्रयास गर्दा पनि असफल भइन्छ,’ उनले भने,‘त्यो वेला निक्कै खल्लो अनुभव हुन्छ । धेरै विरामीलाई मृत्युको मुखबाट जोगाउन सफल हुँदा हुँदै पनि कहिलेकाहीं केहीलाई चाहेर पनि जोगाउन सकिदैन त्यो बेला एउटा विरामीलाई पनि जोगाउन सकिन भन्ने अमिठो आत्मानुभूति हुन्छ ।’

    समग्रमा उनले सघन उपचार कक्ष(आईसीयु) लाई आफ्नो मन्दिरका साथै ध्यान केन्द्र मान्दैआएका छन् । नेपालमा सघन उपचार कक्ष भन्ने बित्तिकै मृत्यु हुन लागेको विरामीलाई लैजाने कक्ष बुझिन्छ । नेपालीको बुझाई पनि त्यहि छ । धेरैजनाको उपचारको क्रममा सघन कक्षमै मृत्यु हुँदा पनि धेरैको यस्तो बुझाई भएको हो ।

    सिकिस्त विरामी, उदाहरणका लागि मुटु, कलेलो, मृगौंला, फोक्सोसम्बन्धी बिरामीलाई सघन कक्षमै राखेर उपचार गर्नुपर्ने बाध्यता हुन्छ । सघन कक्ष अन्य कक्षभन्दा अत्याधुनिक सबै उपकरणले सुसुज्ज्ति हुने भएकाले गम्भिर प्रकृतिका बिरामीको त्यहाँ उपचार गर्नुपर्छ । यसका साथै धेरै प्रकारका रोग लागेर थलि सकेका र उमेर पनि धेरै भइसकेकालाई पनि सघन कक्षमै राखेर उपचार गरिन्छ ।

    उनका अनुसार धेरै उमेर भैसकेका र धेरै प्रकारका रोग लागेर थला परिसकेका बिरामीहरुको हकमा सघन कक्षमा राखेर उपचार गर्ने वा नगर्ने निर्णय पनि वेलायमा चिकित्सकलाई दिइएको छ । सघन कक्षमा राखेर उपचार गर्दा बिरामीको पीडा मात्रै लम्बिने जस्तो देखिएमा चिकित्सकले आफै सघन कक्षमा राखेर उपचार गर्ने वा वाहिर राखेर उपचार गर्ने निर्णय गर्छन् ।

    यसरी हेर्दा वेलायतबासी चिकित्सकमाथि निक्कै विश्वास गरेर उपचार गराउँछन् । उता नेपालमा कुनै चिकित्सकले सघन कक्षमा राखेर उपचार गर्न खोज्दा बिरामीलाई लुट्न खोज्यो भन्ने आक्षेप लगाउने काम हुन्छ । सघन कक्षको उपचार वेगर खासै फायदा हुन्न भनेर बिरामीको उपचार गर्न मान्दैनन भनेर नेपालमा आफन्त उफरिन्छन् ।

    नेपालमा पनि केहि चिकित्सकले निको नहुने खालको विरामीलाई ‘अब सन्चो हुदैन, घरतिरै लगेर हेरविचार गर्नुस’ भनेर सुझाव दिएको पाएको उनको भनाई छ । तर आफन्त र छरछिमेकले के भन्लान् भनेर विरामीको मृत्यु नभएसम्म सघन कक्षमै राख्ने पनि धेरै भेटिन्छन् । गाउँघरतिर पनि छरछिमेकले बिषयबारे गहन जानकारी नलिएर पैसा जोगाउन बिरामीको उपचार नगरी घरमा ल्याएको आक्षेप लगाउनेहरु धेरै भएको सापकोटाको भनाई छ ।

    कतिपयले भने आफ्नो प्रतिष्ठासँग जोडेर पनि बिरामीको ज्यान नजाँदासम्म सघन कक्षमै राख्नेहरु पनि पाइएको छ ।

    वेलायतमा अर्को राम्रो पक्ष भनेको विरामीको इच्छा र निर्णयको पुर्ण सम्मान गरिन्छ । कुनै विरामीलाई केहि गरि आफ्नो मुटु रोकिएको खन्डमा सीपीआर (मुटु रोकिएको बेला पुनः मुटुलाई छातिमा दबाब दिएर वा डीसी बिधुतीय सक दिएर वा औषधी दिएर मुटुलाई पुनः सञ्चालनमा ल्याउन गरिने एक प्रकारका उपचार) वा भेन्टिलेटरमा बसेर उपचार गर्ने वा नगर्ने निर्णय पनि बिरामी आफैले गर्न पाउने व्यवस्था छ ।

    कुनै विरामीमा मानसिक अवस्था नराम्रो भेटियो भने उसले सम्पूर्ण उपचार बिधी नै अस्विकार पनि गर्न पाउने व्यवस्था छ, वेलायतमा । जसलाई मानव अधिकार तथा व्यक्तिगत स्वतन्त्रताको रुपमा हेरिन्छ । साथै सीपीआर र सघन कक्षको उपचार सफल नहुनेजस्तो लागेमा सीपीआर वा सघन कक्षमा राखेर उपचार गर्ने वा नगर्ने निर्णयको अधिकार पनि चिकित्सकमा निहित हुन्छ ।

    यस्ता कारणले वेलायतको सघन कक्षमा मृत्यु दर नेपालको भन्दा निक्कै कम छ । एक विरामीलाई एकजना नर्स, एन्टिबायोटिकको उचित र सन्तुलित् प्रयोग, माइक्रोवायोलोजिष्ट, फर्मासिस्ट, डाइटिसियन, फिजियोथेरापी, साइक्लोजिकल थेरापीजस्ता सुविधा वेलायतको सघन कक्षमै २४ सैं घण्टा उपलब्ध हुनुले पनि बिरामीको ज्यान जोगाउन सहज भएको उनको भनाई छ ।

    सघन कक्ष चिकित्सा पद्धतीको बिषयमा राम्रो दख्खल राखेका सापकोटा आफुलाई भाग्यमानी ठान्छन । उनी आफुसँग भएको बिशेष ज्ञान र प्रविधि आफ्नै मुलुकलाई उपलब्ध गराउन निक्कै आतुर छन् ।

    मुलुक छाडेर जाने आफ्नो प्राथमिकता कहिले नभएको बताउँदै उनले विश्व स्वास्थ्यको क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय प्रविधी, अभ्यास र सेवा सुविधाको बारेमा जानकारी लिने उद्देश्यले उनी बेलायत गएका थिए । वेलायतमै कार्यरत् उनका धेरैजसो नेपाली चिकित्सक मित्रहरु भने उतै बस्ने इच्छा राखिराख्दा उनी भने प्राप्त गरेको प्रविधि र अभ्यासका साथ नेपाल नै फर्किने यहीका विरामीलाई आनन्द भावले सेवा गर्ने ठूलो इच्छा राखेका छन् ।

    नेपालको वर्तमान् अवस्थामा चिकित्सकहरुले निर्धक्क भएर काम गर्ने अवस्था भने अहिले छैन् । दिनहुँ मुलुकको कुनै न कुनै कुनामा चिकित्सक् कुटिएको वा चिकित्सकमाथि दुव्र्यवहार भइरहेको तितो यर्थाथ पनि एकातिर छ । यस्ता धेरैजसो दुव्र्यवहार राजनैतिक पहुँचको आडमा हुने भएकाले दोषिमाथि कारवाही समेत नहुँदा स्वदेशमा बसेर काम गर्ने वातावरणसमेत बन्न नसकेको उनको बुझाई छ ।

    धेरै वर्ष अगाडि चितवन मेडिकल कलेजमा काम गर्दा सापकोटामाथि पनि एक व्यक्तिले दुव्र्यवहार गरेको तितो अनुभव सुनाउँछन । एउटा सिकिस्त विरामीलाई उपचार गर्ने समयमा बिरामीको आफन्तले नेतालाई बोलाएर दुव्र्यवहार गरेको उनको भनाई छ ।

    विडम्बना, हाल दुव्र्यवहार गर्ने ति व्यक्ति भरतपुरकै एक वडामा एक ठुलो राजनैतिक दलका वडा सभापति तथा २–३ वटा सामाजिक संस्थामा अगुवा समेत् छन् ।

    यस्ता खालको घटनाले नेपाली चिकित्सकमा वितृष्णा जागेका कारण धेरै संस्थामा विभिन्न मुुलुकमा पलायन हुन बाध्य भएका छन् । अवस्था यतिसम्म नाजुक भएको छ की कुनै व्यक्ति मदिरा सेवन गरि बाटोमा हिड्दा दुर्घटना हुँदा अस्पताल आइपुगेर मृत्यु हुँदा पनि दोष सबै चिकित्सकलाई दिएर रिस फेर्छन । मदिराको कारणले भएको दुर्घटनालाई गौण बनाइन्छ ।

    संचार माध्यम र सामजिक सन्जालमा पनि अस्पताल र चिकित्सकलाई दोषी ठहराइँदा भ्युज र कमेन्ट बढ्ने लोभमा केहि सञ्चारमाध्यम पनि यस्ता घटनामा रम्ने गरेको पाइन्छ । उनीहरुले गहन रुपमा अध्ययन नगरि आफुखुशी समाचार प्रस्तुत गर्छन ।

    यसले गर्दा नेपालमा विरामी र चिकित्सक बीचको दुरी र तिक्तता बढ्दो छ । ज्यादै न्युन तलबमा अस्पताल प्रशासनबाट श्रम शोषणमा परिरहेका चिकित्सकहरुलाई समाजमा पनि खलपात्र र लुटेराको रुपमा चित्रित गरिन्छ । यसले गर्दा चिकित्सक पेशामा रहेका चिकित्सक कि त आफ्नो पेशा बदल्न बाध्य भएका छन, कि नेपालबाट पलायन हुन बाध्य भएको सापकोटाको भनाई छ ।

    सापकोटाले नेपालभन्दा बेलायतमा राम्रो आम्दानी गर्दै आएका छन् । उनी प्रतिघण्टा सेवा उपलब्ध गराएको आधारमा पनि अतिरिक्त पारिश्रमिक प्राप्त गर्दैआएका छन् । तैपनि उनलाई नेपालमै फर्कु र नेपालकै दुःखी बिरामीको सेवा गरुँम भन्ने ठूलो इच्छा छ ।

    नेपालमा रकम अभावका कारण विरामीहरु उपचार गराउनसमेत धौ धौ परेको बताउँदै उनले एकजना २१ बर्षे मृगौलाका विरामी रकम अभावका कारण उपचार गराउन नसक्दा ज्यान गएको घटनालाई झकझकाई रहेको तिक्तता सुनाउँछन ।

    कागजमा गरिब, बिपन्न, चेपाङ्ग् तथा अन्य पिछडिएकालाई सम्पुर्ण औषधि उपचार निः शुल्क व्यवस्था गरिएपनि पहुँच नपुगेको बिरामीले ति सुविधा उपभोग गर्न नपाएको उनको बुझाई छ । बेलायतमा भने सरकारले उपलब्ध गराउने सेवा सुविधा पारदर्शी रुपमा बिना पहुँच सहज रुपमा बिरामीले पाउने गरेको उनले बताए


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend