एजेन्सी । भारतको पश्चिमी राज्य गुजरातमा शनिवार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २८ पुगेको स्थानीय दमकल विभागका अधिकारीले आईतवार बताएका छन् । मृत्यु हुनेमा नौ जना बालबालिका रहेका छन् ।
राज्यको राजकोट जिल्लामा रहेको टीआरपी गेम जोन नामक मनोरञ्जन पार्कमा आगलागी भएको हो । आगलागीको कारण औपचारिक रुपमा खुल्न सकेको छैन तर मनोरञ्जन पार्क भित्र वेल्डिङको काम वा सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने आशंका गरिएको छ ।
त्यसपछि विभिन्न गेमिङ मेसिनहरू इन्धनको लागि राखिएको डिजेलको ठूलो स्टकले थप त्रासदी निम्त्यायो । दुर्घटनापछि, गेम जोनका मालिकहरूलाई पक्राउ गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार मनोरञ्जन पार्क अस्थायी संरचनाले बनेको थियो र ज्वलनशील पदार्थहरू भण्डारण गर्न पर्याप्त हेरचाह गरिएको थिएन। प्रदेश सरकारले छानबिनका लागि विशेष छानबिन टोली गठन गरेको छ ।