जनकपुरधाम । नागरिकता कसुरमा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ ।
जनकपुरको काब्या अस्पतालमा रहेका उनलाई स्वास्थ्यमा समस्या आएपछि एयर लिफ्ट गरेर काठमाडौँ ल्याउने तयारी गरिएको छ ।
हिरासतमा रहँदा स्वास्थ्य बिग्रिएपछि अध्यक्ष सिरोहियालाई उपचारका लागि काठमाडौं लैजान सिफारिस गरिएको अस्पतालका एक चिकित्सकले बताए ।
प्रहरी हिरासतमै रहँदा उच्चरक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उनी अहिले जनकपुरधामस्थित काब्या अस्पतालमा रहेका छन् । उक्त अस्पतालमा पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौँ ल्याउन लागिएको हो ।
गत मंगलबार उनलाई काठमाडौँबाट पक्राउ गरी धनुषा लगिएको थियो ।
सोमबार तेस्रो पटक म्याद थपका क्रममा पनि धनुषा जिल्ला अदालतले आवश्यक परेमा उपचारका लागि डाक्टरकहाँ लैजान आदेश दिएको थियो ।
सोमबार म्याद थपका लागि प्रहरीले उनलाई काब्या अस्पतालबाट एम्बुलेन्सबाटै जिल्ला अदालत धनुषामा उपस्थित गराएको थियो ।
अदालतले सोमबार तेस्रो पटक तीन दिनको म्याद थप गरिसकेको छ । यसअघि पनि अदालतले सिरोहियालाई पहिलो र दोस्रो पटक तीन–तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।