logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • विपद् पूर्वतयारीमा जुट्न ७७ वटै जिल्लाका निकायहरुलाई रेडक्रसको निर्देशन

    विपद् पूर्वतयारीमा जुट्न ७७ वटै जिल्लाका निकायहरुलाई रेडक्रसको निर्देशन

    490
    Shares
    विपद् पूर्वतयारीमा जुट्न ७७ वटै जिल्लाका निकायहरुलाई रेडक्रसको निर्देशन

    काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले विपद् पूर्वतयारीमा जुट्न ७७ वटै जिल्लाका निकायहरुलाई निर्देशन दिएको छ । मनसुनबाट हुनसक्ने सम्भावित जोखिमलाई कम गर्न नेपाल रेडक्रस सोसाइटीले पूर्वतयारीको काम थाल्न ७७ वटै जिल्लाका निकायहरुलाई निर्देशन दिएको हो ।

    नेपाल रेडक्रसले जनशक्ति, आर्थिक श्रोतको सुनिश्चितता र आवश्यक सामग्रीहरुको जोहो गरी सातै प्रदेश र ७७ वटै जिल्लामा पूर्वतयारीमा खट्न आग्रह गरेको छ । शुक्रवार काठमाडौंमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले वर्षभर हुनसक्ने विपद्लाई मध्यनजर योजना बनाइएको र मनसुनजन्य विपद्बाट हुनसक्ने क्षति न्युनिकरणका लागि पूर्वतयारीमा जुटिसकेको बताए ।

    उनले विगतका वर्षहरुको अनुभव र यस वर्ष बढी वर्षा हुने पूर्वानुमानलाई मध्यनजर गरी आफूहरुले योजना बनाएको बताए । उनले विपद्बाट हुनसक्ने क्षतिलाई मध्यनजर गरी ५० प्रतिशत भन्दा बढी आवश्यक सामग्रीहरुको भण्डारण भइसकेको बताए ।

    उनले ७ प्रदेश र ७७ जिल्लालाई नै पूर्वतयारी गर्नका लागि निर्देशन दिइसकेको र आर्थिक श्रोत, सामग्रीहरुको सुनिश्चितताका लागि आवश्यक पहल गरिएको जानकारी दिए । उनले विभिन्न किसिमको प्रतिकार्यका लागि पहिला नै आकस्मिक कोषहरु छुट्याइएको र आवश्यकता अनुसार रकमहरु पनि परिचालन हुने बताए ।

    उनले भने, ‘भोलिबाट मनसुन शुरु भएर असोजको १४ सम्म मनसुन रहने पूर्वानुमान छ । हामीले हरेक वर्ष मनसुन शुरु हुनु भन्दाअघि नेपाल रेडक्रस सोसाइटीको तर्फबाट मनसुन प्रिपेयरनेस र रेस्पोन्सको योजना नै बनाएर काम गर्दै आइरहेका थियौँ । तर यस वर्ष हामीले मनसुन प्रिपेयरनेस र रेस्पोन्सको प्लान नबनाइकन समग्र डिजास्टर म्यानेजमेण्टको प्लान बनायौँ । जुनसुकै डिजास्टर भएपनि कसरी तयारी हुनुपर्छ र कसरी रेस्पोन्स गर्ने भनेर वर्षभरमा हुनसक्ने विपद्लाई मध्येनजर राखेर प्लान बनाएका छाैँ । निश्चित रुपमा मनसुन शुरु भएको सन्दर्भमा हामीले मनसुनमा बढी केन्द्रित रहेर योजना बनाउनु स्वभाविक नै हो ।

    यसपालि गत वर्षको भन्दा बढी हिट हुन्छ भनिएको छ । ४४ डिग्रि भन्दा बढी तापक्रम कतिपय शहरहरुमा पुगिसकेको छ । काठमाडौंमा पनि विगतको वर्ष भन्दा बढी गर्मी महशुस गरेका छौँ । मनसुनको पूर्वतयारीको सन्दर्भमा विगतका वर्षहरुको अनुभव र यसपालि बढी पानी परेर त्यसको क्षति ठूलो हुनसक्छ भनेर पूर्वतयारीलाई त्यत्तिकै ध्यान दिएर काम गरेका छौँ । खासगरी एउटा भनेको जनशक्ति, हामीसँग विभिन्न क्षेत्रमा तालिमप्राप्त जनशक्तिहरु हुनुहुन्छ । तालिमप्राप्त जनशक्तिलाई पूर्वतयारी अवस्थामा राखेका छाैँ । आर्थिक श्रोत साधनको कुराहरु पनि छ ।

    विभिन्न किसिमको रेस्पोन्सका लागि पहिला नै हामीले छुट्याएर राखेको फण्डहरु छन् । आवश्यक सामग्रीहरु पनि तयारी अवस्थामा हामीले राखेका छौँ । ५० प्रतिशत भन्दा बढी आवश्यक सामग्रीहरुको भण्डारण छ । पैसा उपलब्ध गराउने कुरामा पनि हामी केन्द्रित छौँ । ७ प्रदेश र ७७ जिल्लालाई नै पूर्वतयारी गर्नका लागि हामीले अनुरोध गरिसकेका छाँै ।’

    उनले केही स्थानमा पूर्वसूचना प्रणालीका बारेमा पनि काम गरिरहेको जानकारी गराउँदै सबै निकाय र संघसंस्थाहरुले घटना हुन नदिन आवश्यक पहल गर्न आग्रह गरे । उनले विपद्जन्य घटना मात्रै नभइ अधिक गर्मी, स्वास्थ्यजन्य समस्याहरुमा पनि सबैले आवश्यक चासो देखाउन जरुरी रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend