काठमाडौं । नेपालमा भुक्तानी प्रणाली सञ्चालन गर्दै आएका दुई कम्पनी एक आपसमा समाहित हुने भएका छन् । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले नेपाल इलोट्रोनिक्स पेमेन्ट सिष्टम लिमिटेड (नेप्स) लाई आफूमा समाहित (एक्विजिसन) गर्ने भएको हो ।
समाहितपछि नेपाल क्लियरिङ हाउसको नाममा एकीकृत कारोबार हुने भएको छ । दुबै संस्था एक आपसमा समाहित भएर आउँदो सोमबारदेखि एकिकृत कारोबार गर्ने भएका छन् । कारोबार हुने दिन डाटा माइग्रेसनको काम भए पनि भुक्तानी नरोकिने नेपाल क्लियरिङले जनाएको छ ।
संयुक्त कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड रुपैयाँ पुग्ने भएको छ । समाहित गर्ने विषयमा दुई कम्पनीबीच गत चैत २२ गते अन्तिम सम्झौता भएको थियो । वैशाख १३ गते सम्पन्न दुबै कम्पनीको विशेष साधारणसभाले प्राप्ति गर्ने निर्णयलाई अनुमोदन गरेको थियो ।
नियामक नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्टार कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त भएकाले प्राप्ति प्रक्रिया सुरु भएको नेपाल क्लियरिङले जनाएको छ । एनसिएचएलले गैरकार्ड प्रणालीबाट भुक्तानी र नेप्सले कार्डबाट मात्र भुक्तानी प्रणाली सञ्चालन गरिरहेको थियो ।
दुबै कम्पनी एक भएपछि अब कार्डबाट र गैरकार्ड भुक्तानी प्रणालीको संरचना तयार भई अझ सबल हुने प्रमुख कार्यकारी अधिकृत (सिइओ) निलेशमान सिंह प्रधानले सुनौलो नेपाललाई बताए ।
एनसीएचएल र नेप्से बैंक तथा वित्तीय संस्थाहरुको प्रवद्र्धनमा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका संस्थाहरु हुन् ।
२०६५ पुस ८ मा स्थापित एनसिएचएलले आईपीएस, आरपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, कनेक्ट आरटिजिएस, नेसनल पेमेन्ट इन्टरफेस, नेपाल पे क्यूआरजस्ता राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ ।
एनसीएचएलले एनपीएस अन्तर्गतको नेसनल कार्ड स्विच र नेपाल पे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ । ५३ भन्दा बढी बैंक वित्तीय संस्थाहरु र ९५ भन्दा बढी अन्य संस्था र निकायहरुले एनसिएचएलको प्रणाली प्रयोग गर्दै आएका छन् ।
२०६९ फागुनमा स्थापित नेप्सले विभिन्न बैंक वित्तीय संस्थाहरुको लागि केन्द्रिकृत रुपमा एटिएमलगायत कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्न आवश्यक प्रशोधन गर्ने कार्य गर्दै आएको छ ।
नेप्ससँग कार्ड भुक्तानी प्रणाली मात्र रहेको थियो अब एकीकृत भएपछि कार्ड र गैरकार्ड पूर्वाधार तयार भइ भुक्तानी प्रणाली अझ ठूलो र सबल बन्ने उनले जानकारी दिए ।