सनत हमाल
मुगु । मुगुका पाटनमा यार्सागुम्बा टिप्न गएका तीन युवकको लेक लागेर मृत्यु भएको छ ।
जिल्लाको मुगुम कार्मारोङ गाउँपालिमा पर्ने यार्सा पाटन ठूलो कोइकीमा लेक लागेर विरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका तीन युवकको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा छायाँनाथ रारानगरपालिका–१२ शोभा गाउँका २९ वर्षीय मनबहादुर बुढा, सोही वडाकै कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले जानकारी दिए ।
लेक लागेर तीनजनाको मृत्यु भएको र तीनै जना छायाँनाथ रारानगरपालिका वडा न १२ का स्थानीय युवा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।
गएको वैशाखमा पनि एकजनाको लेक लागेर मृत्यु भएको थियो । मुगुका दुई दर्जन बढी पाटन क्षेत्रमा यार्सा संकलन गर्न मुगुम कार्मारोङ गाउँपालिकाले जेष्ठ १५ गते मात्र वन पाटन प्रवेश खुल्ला गरेको थियो ।