काठमाडौँ : दुई महिनादेखि जारी लकडाउनका कारण काठमाडौँ उपत्यका ठप्प जस्तै छ । मानिसहरुको आवत जावत लगभग रोकिएको छ । गृह प्रशासनले पनि मानिसहरुलाई घरभित्रै बस्न र अत्यावश्यक काममा बाहेक बाहिर नजिस्कन भनेको छ ।
तर काठमाडौँको चाबहिल चुच्चेपार्टी लगायतका भित्री गल्लीमा मानिसहरुमा कोरोना भाइरस (कोभिड–१९) को त्रास कम भएको छैन । त्यसैले गल्लीगल्लीमा उनीहरुले बाँसको घारो राखेका छन्, स्थानीय बाहेक अरुलाई नआउन सूचना टाँसिएको छ । र, चोकचोकमा लाठो लिएर बसेका छन् । मानिसहरु जिउ तन्काउनभन्दा बाहिर निस्कने र एउटा टोलीबाट अर्को टोलसम्म पुग्ने गरेको भन्दै स्थानीय युवाहरुको तर्क छ ।
मानिसहरुको अनावश्यक आवतजावतले असुरक्षित भयौं भनेर स्थानीय युवाहरुले स्वस्फर्त यस्तो गर्नु भएको हो । तर अहिले पनि भित्री गल्लीहरुमा हटेको छैन । यसरी बाटो छेक्दा अत्यावश्यक काममा हिँडडुल गर्न मात्र होइन, चाहिएको बेला एम्बुलेन्स, दमकल आउन समेत अवरोध हुनसक्छ ।
काठमाडौँ महानगरपालिकाले पनि यसरी बाटो अवरोध नगर्न आग्रह गरेको छ । महानगरका प्रवक्ता ईश्वरमान ढंगोल भन्छन्, ‘लकडाउन भनेको बाटो छेकेर भिडभाड रोक्ने होइन, सबै घरभित्र बस्ने हो । त्यसैले यसरी बाटो नछेक्न हामी सबैलाई अनुरोध गर्छौ, ताकि इमर्जेन्सी पर्दा नप्ठ्यारो नहोस् ।’