काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले पुँजी पलायनलाई रोक्नुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद कुँवरले पुँजी पलायनलाई रोक्नुपर्नेमा जोड दिएका हुन् ।
उनले बजेटले पुँजी पलायनलाई रोक्न ध्यान पुर्याउन नसकेको बताए । उनले युवाहरु विदेशिइरहेका तथा मध्यम वर्ग र निम्न वर्ग आयस्रोतमा नजोडिएका कारणपनि पुँजीको परिचालन हुन नसकेको बताए । उनले अर्थमन्त्रीले निराशालाई आशामा परिणत गर्नेगरी बजेट ल्याएको पनि बताए ।
उनले भने – ‘कार्यक्रम कार्यान्वयन गर्न नसकेमा जति राम्रो बजेट ल्याएपनि केही हुँदैन । एकातिर पुँजीको अभाव छ । अर्कोतिर पुँजी विदेशमा पलायन भइरहेको छ । यसलाई रोक्ने तरिका के हो ? यसमा पनि हामीले ध्यान दिनुपर्यो । पुँजीको परिचालन भइरहेको छैन आज । युवाहरु विदेश गइरहेका छन् । मध्यम वर्ग र निम्न वर्ग कुनै आयस्रोतमा जोडिएका छैनन् । त्यसकारण पुँजीको परिचालन नहुँदाखेरी पुँजीगत खर्च पनि भइरहेको छैन । यो बजेटमा अर्थमन्त्रीले केही साहस गर्नुभएको छ । केही आश्वस्त पनि पार्नुभएको छ । हरेक क्षेत्रमा छाएको निराशालाई आशामा परिणत गर्ने प्रयास अर्थमन्त्रीले गर्नुभएको छ ।’
सांसद कुँवरले कृषि क्षेत्रमा आधुनिकीकरण र विचौलियाको अन्त्य गर्नुपर्ने बताए । बजेटले विदेश पलायन हुने विद्यार्थीहरुलाई रोक्न नसकेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।