काठमाडौँ । युवा विद्यार्थीहरुमा नेतृत्व विकास, सकारात्मक मानसिकता, उद्दमशिलता प्रवर्दन गर्ने उद्देश्य सहित मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एम.आई.टि), वाई.ई.डि टक्स, परिवर्तनका लागि युवा (युथ फर चेन्ज) र इन डेप्थ स्टोरी (आई.डि.एस) को संयुक्त आयोजनामा जेठ २६ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा नेशनल युथ फेस्टिभल २०२४ हुने भएको छ।
बरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत, बौद्ध भिक्षुणी तथा विश्व चर्चित गायिका आनी छोइङ डोल्मा, बरिष्ठ पाइलट विजय लामा, पूर्व बैङ्कर तथा प्रेरक वक्ता अनिल केशरी शाह, उद्दमी तथा गोल्डस्टार नेपालकी कार्यकारी निर्देशक विदुषी राणा, मानव सेवा आश्रमका परिकल्पनाकार तथा समाजसेवी रामजी अधिकारी र बरिष्ठ पत्रकार टीकाराम यात्री सहित विभिन्न वक्ताहरुको जीवनको अनुभव र भोगाइलाई समेट्दै आफ्नै देशमा अवसरहरु निर्माण गर्न सकिन्छ भन्ने मूल उद्देश्यका साथ कार्यक्रम संचालन गर्न लागिएको मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एम.आई.टि) अध्यक्ष सुरेन्द्र सुबेदीले जानकारी दिए ।
कार्यक्रममा विभिन्न वक्ताहरुको प्रवचनका साथै गायक स्वप्न सुमन र सुशान्त घिमिरेको ब्यान्ड सहितको विशेष सांगीतिक प्रस्तुती समेत रहने सुवेदीले जानकारी दिए । नेपालमा नेपाली युवाहरुलाई थप उत्साहित र एकिकृत गर्दै युबाहरु बाट थप नयाँ आशा गर्ने बेला आएको छ भन्ने कुरालाई चरिर्थात्र गर्नको निमित्त यस कार्यक्रमको आयोजना गरेको हो ।
साथै आफ्नो ज्ञान, सिप र क्षमताको सदुपयोग यसै देश नेपालमा केही सफल कार्य गरी भोलीका पिढीको असल पथप्रदर्शक बन्नको लागि प्रेरित गर्ने उदेश्यका साथ यस नेशनल युथ फेस्टिभल २०२४ को आयोजना गर्न लागेको वाई.ई.डि टक्सका दिवस कार्कीले बताए ।
विद्यालय शिक्षा (कक्षा १२) बाट उच्च शिक्षाको यात्रा सुरु गर्न नतिजाको प्रतिक्षामा रहेका विद्यार्थीका निम्ति आयोजना हुन गई राखेको यस कार्यक्रममा इच्छुक विद्यार्थीले सहभागिता लागि अनलाइन मार्फत आफ्नो नाम दर्ता गरी जनाउन सक्नेछन् ।