काठमाडौँ । आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ ।
नेपालले जितका लागि नेदरल्यान्डससामु एक सय सात रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य नेदरल्यान्डसले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
नेदरल्यान्डसका लागि म्याक्स ओडाउडले अविजित ५४ रन बनाए । उनले ४८ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे ।
यस्तै विक्रमजित सिंहले २२, सेब्राण्ड एन्जेलब्रेचिटले १४ तथा बास डी लिडले अविजित ११ रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनास बोहराले एक एक विकेट लिए ।
झिनो लक्ष्य प्रस्तुत गरेको नेपालले खेलमा विकेट लिने थुप्रे अवसर गुमाएको थियो । सोमपाल कामी र कप्तान रोहित पौडेल क्याच लिने अवसरबाट चुकेका थिए ।
यसअघि अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर एक सय ६ रन बनायो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका प्रहार गरे। खेलमा खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो ।
भुर्तेल ७ रन तथा आसिफ शेख ४ रन बनाएर आउट भए । यस्तै करन केसीले १२ बलमा १७ रन जोडे । गुल्सन झाले १४ तथा अनिल साहले ११ रन बनाए ।
अनिल शाहले १२ बलमा ११ रन जोडे । त्यस्तै कुशल मल्लले ९ बलमा ९ रन बनाएर आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ नेदरल्यान्ड्सका टिम प्रिङगनल र लगन भान वीकले तीन तीन तथा बास डी लिड र मकेरेनले दुई दुई विकेट लिए।
नेपालले अब आफ्नो दोस्रो खेल यही जेठ २९ गते श्रीलङ्कासित अमेरिकाको फ्लोरिडामा खेल्नेछ।