logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • २८५ मेगावाटको तमोर जलासय बनाउन जुट्यो लगानी, एभरेष्ट बैंकको अगुवाइमा ३८ अर्ब ६० करोड लगानी हुने

    २८५ मेगावाटको तमोर जलासय बनाउन जुट्यो लगानी, एभरेष्ट बैंकको अगुवाइमा ३८ अर्ब ६० करोड लगानी हुने

    567
    Shares
    २८५ मेगावाटको तमोर जलासय बनाउन जुट्यो लगानी, एभरेष्ट बैंकको अगुवाइमा ३८ अर्ब ६० करोड लगानी हुने

    काठमाडौं । नेपालको निजी क्षेत्रले निर्माण गर्न लागेको सबैभन्दा ठूलो २ सय ८५ मेगावाटको माथिल्लो तमोर अर्धजलासय जलविद्युत् आयोजना बनाउन लगानी जुटेको छ । बिहीबार आयोजित एक कार्यक्रममा तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगाना र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङले हस्ताक्षर गरे ।

    एभरेष्ट बैंकको अगुवाईमा कृषि विकास बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीयल), राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, नेपाल एसबीआई बैंक तथा गरिमा विकास बैंकले ऋण लगानी गर्ने भएका छन् । कुल ५५ अर्ब १५ करोड अनुमानित लागत रहेको आयोजनामा १६ अर्ब ५५ करोड स्वःपूँजी तथा ३८ अर्ब ६० करोड बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने छन् ।माथिल्लो तमोर आयोजना ४ वर्षमा सम्पन्न गर्ने गरी तमोर इनर्जी प्रालिले निर्माण गर्न लागेको हो ।

    आयोजनाको अनुमानित लागत ५५ अर्व १५ करोड रुपैयाँ रहेको छ भने निर्माण कार्य आगामी २०८५ साल जेठमा सम्पन्न हुनेछ । आयोजना सञ्चालनबाट पहिलो वर्षमा करिब १० अर्ब १२ करोड रुपैयाँ आम्दानी हुनेछ र वार्षिक रुपमा वृद्धि हुँदै नवौ वर्षमा करिब १२ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ । नेपाल विद्युत प्राधिकरणले आयोजनाको विकासकर्ता तमोर इनर्जीबीच विद्युत खरिदबिक्री सम्झौता (पिपिए) भइसकेको छ । कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २ सय ८५ मेगावाटसम्म विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाएको छ । २०७५ जेठ २७ गते तमोरले आयोजनाबाट बिजुली उत्पादन गर्न मन्त्रालयबाट लाइसेन्स पाएको हो ।

    कोशी प्रदेश ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकामा निर्माण निर्माण हुने यो आयोजना अर्धजलाशययुक्त आयोजना हो । ६ घण्टाको पिकिङ क्षमतामा निर्माण हुने यस आयोजनामा बाँधमाथि रहने रिजर्भवायरमा २ घण्टा र हेड पोण्डमा ४ घण्टा पूर्ण क्षमतामा विद्युत् निकाल्न पुग्ने पानी भण्डारण गरिनेछ । यस आयोजनाको डिजाइन डिस्चार्ज करिब ७८ घनमिटर प्रतिसेकेन्ड र ग्रस हेड ४ सय ५० मिटर रहनेछ ।

    विद्युत प्राधिकरणले आयोजनाबाट उत्पादन हुने बिजुली बर्खामा प्रतियुनिट ४ रुपैयाँ र सुक्खायाममा (पिकिङ) अवधिका लागि प्रतियुनिट १० रुपैयाँ ५५ पैसा र पिकिङ नभएको अवधिका लागि प्रतियुनिट ८ रुपैयाँ ४० पैसा निर्धारण गरेको नियमन आयोगले जनाएको छ । यस्तै प्रस्तावित आयोजनाको पीपीए दरअनुसार वार्षिक ३ प्रतिशतका दरदे ८ पटकसम्म मूल्यवृद्धि हुनेछ ।

    यस आयोजनाको भूमिगत विद्युत गृह करिब १०४ मिटर लामो र २५ मिटर चौडाइको हुनेछ, जसमा ५७ मेगावाट क्षमताका ५ वटा पेल्टन टर्बाइन रहनेछन् । उत्पादित विद्युतलाई २२० केभीको डबल सर्किट करिब १५ किलोमिटर लामो प्रसारण लाइन मार्फत ढुङ्गेसाँघु सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

    कार्यक्रममा बोल्दै तमोर इनर्जीका अध्यक्ष ढुंगानाले देशमा उत्पन्न भएको निराशा चिर्न ठूला आयोजना निर्माण गरेर स्वदेशी पूँजीमा पनि ठूला आयोजना निर्माण गर्न सकिने सन्देश दिन लागेको बताए ।

    ताप्लेजुङमा निर्माण हुन लागेको सबैभन्दा ठूलो जलविद्युत् आयोजना र निजी क्षेत्रले हालसम्म निर्माण गर्न लागेको सबै भन्दा ठूलो आयोजना निर्माणमा ताप्लेजुङ बासीको साथ र सहयोग पाउने ढुंगानाले विश्वास व्यक्त गरे ।

    नेपालको निजी क्षेत्र पनि स्वदेशी लगानी र पूँजीमा ठूला आयोजना समेत निर्माण गर्न सक्ने अवस्था आएको ढुङ्गानाले बताए ।

    नेपालमा नेपाली पूँजी क्षमताले आयोजना निर्माण गर्न सकिने माथिल्लो तमोर आयोजनाले आशा देखाएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले बताए । सरकारले २८ हजार ५ मेगावाटको लक्ष्य बनाउँदा यसलाई सार्थक गर्नको लागि बैंकले २० प्रतिशत जलविद्युत्मा लगानीको व्यवस्था गर्नु पर्ने कार्कीको भनाइ छ ।

    प्रवर्द्धक समूहले यसअघि १ मेगावाट पातीखोला जलविद्युत् आयोजना, १५ मेगावाटको हेवा खोला एु जलविद्युत् आयोजना, ४४ मेगावाटको सुपर मादी जलविद्युत् आयोजना सञ्चालनमा छन् । यस्तै ३७.५ मेगावाट क्षमताको तमोर ५ जलविद्युत् आयोजना र २१ मेगावाट क्षमताको पालुनखोला जलविद्युत् आयोजना निर्माणाधीन रहेका छ्न्।

    याे पनि : 

    २८५ मेगावाटको तमोर जलासय बनाउन जुट्यो लगानी, एभरेष्ट बैंकको अगुवाइमा ३८ अर्ब ६० करोड लगानी हुने

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend