logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • देशभरका जग्गाको पुनः नापी गर्नुपर्छ : मन्त्री अधिकारी

    देशभरका जग्गाको पुनः नापी गर्नुपर्छ : मन्त्री अधिकारी

    952
    Shares
    देशभरका जग्गाको पुनः नापी गर्नुपर्छ : मन्त्री अधिकारी

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वैज्ञानिक अभिलेखिकरणका लागि देशभरका जग्गाको पुनः नापी गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले देशभरका जग्गाको पुनः नापी गर्नु जरुरी भएको बताएका हुन् ।

    उनले २०२१ सालपछि गरिएको नापी अहिले अव्यहारिक भइसकेको बताए । उनले विगतमा गरिएको नापी अनुरुपको जग्गा जमिन तथा वनजङ्गल नभएको भन्दै वैज्ञानिक अभिलेखिकरणका लागि पुनः नापी गर्नुपर्ने बताए । उनले नापीको बेलामा बस्ती भएको ठाउँ अहिले जङ्गलमा परिणत भइसकेको र जङ्गल भएको ठाउँ बस्तीमा रुपान्तरण भइसकेको भन्दै पुनः नापी गर्नुपर्ने औचित्य प्रस्ट्याए । उनले सरकारसँग जग्गा, जमिनको आधुनिक व्यवस्थापन परिपाटी नभएको बताए । उनले अझैपनि सरकारले परम्परागत शैलीबाट काम गरिरहेको भन्दै पुराना रेकर्डहरु नभेटिने अवस्था रहेको पनि बताए ।

    कतिपय पुराना रेकर्डहरु कर्मचारीले गलत धन्दा गरेका कारण उनीहरुले नै गायव पारेका उनको भनाई छ । उहाँले जमिनको वैज्ञानिक रुपमा अभिलेखिकरण गर्न समय लाग्ने बताए । उनले सरकारले सार्वजनिक, सरकारी, सामुदायिक र गुठी जग्गाहरुको यकिन तथ्याङ्क दिन नसक्ने पनि बताए ।

    उनले भने–‘हामीसँग अहिले आधुनिक व्यवस्थापन परिपाटी छैन । परम्परागत शैलीबाट हामीले काम गरिरहेका छौँ । त्यो शैलीमा के छ भने कतिपय पुराना रेकर्डहरु धमिरा लागेका छन् । यथार्थ भन्नुपर्दा कतिपय कार्यालयहरुमा फाइल खोज्न पठाउँदा, गलत धन्दाले काम भएका छन् । ति फाइल देखायो भने आफैँ कारबाहीमा परिन्छ । फाइल नै गायब छन् । त्यसको रेकर्ड अब कहाँबाट ल्याउने ? यस्ता समस्याहरु पनि छन् । चुरो कुरा, २०२१ सालदेखि ४० सालसम्म नापी गरियो ।

    त्यतिबेला नापी भएका र त्यतिबेला छुट्याइएका क्षेत्रफल सही पनि नआएको हुनसक्छ कतिपय । त्यतिबेला नापी भएको लथालिङ्ग भएको छ । कतिपय बस्ती भएको ठाउँमा बस्ती नै छोडेर जङ्गल भएको छ । कतिपय वनको रेकर्डमा जुन जमिन छ, वनको रेकर्डको जमिन सबै वनमा त छैन । कतिपय आयोगले लालपूर्जा दिएर बनाएको छ । कतिपय सरकारले त्यो वनलाई अन्य काममा प्रयोग गर्न दिएको छ । त्यो पनि वनको रेकर्डमा छ । अनि वनले यो हाम्रै हो भन्छ ।

    ०७६ सालमा भूमी ऐन बनायौँ । त्यो भूमी ऐन लागू गर्दा अहिले पनि हाम्रो ढाँचा कस्तो छ भने वनले हाम्रोमा छैन त्यसकारण दिन्नौँ भन्छ । हामी अहिले पनि २०१९, ०२१, ३४ सालको ऐनलाई हेर्छौ र त्यसले रोक्छ भन्छौँ । अनि यो संविधान बनाएको, कानुन बनाएको, परिवर्तन गरेको अर्थ त हुँदै भएन । त्यसकारण हामीले देशभरी पुनः नापी गर्नु जरुरी छ । वन मन्त्रालयसँग पनि छलफल गर्दैछौँ ।

    तपाईहरुले बस्न, घरवार बनाउन, सडक बनाउन, विद्युत, खानेपानी दिनुहुन्छ । अनि उनीहरुलाई लालपुर्जा दिउँ भन्दा जङ्गल हो भन्नुहुन्छ । त्यस्तो पनि दुनियाँमा कहीँ हुन्छ । यो सरकारले नियन्त्रित गर्न नसकेको भन्ने कि ? कानून बनाएर सहज बनाइदिएनौँ भन्ने कि ? हामीले नचाहेको भन्ने ? यि जटिल विषयहरुमा हामीले ध्यान केन्द्रित गर्नु जरुरी छ । यो कारणले पनि हामीले यकिन डाटा दिन सकेका छैनौँ ।’

    मन्त्री अधिकारीले स्थानीय तहले आफ्नै खर्चमा वैज्ञानिक रुपमा नापी गर्न चाहेमा मन्त्रालयले बाटो फुकाउने पनि बताए । त्यस्तै मालपोत कार्यालय र नापी कार्यालय फरक–फरक ठाउँबाट सञ्चालन हुँदा सेवाग्राहीले दुःख पाएका भन्दै एकै ठाउँबाट सञ्चालन गर्ने सन्दर्भमा मन्त्रालयको सोच रहेको उनले जानकारी दिए । उनले गुठी जग्गाको लगत निकाल्नको लागि गुठीको एकीकृत कानून बनाउनुपर्ने बताए । उनले गुठीको लागि मन्त्रालयले छिट्टै कानून अगाडी बढाउने पनि जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend