मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र सामाजिक सद्भावलाई जोगाइराख्न राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् ।
एमाले मकवानपुरको १२औँ अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीलाई आज हेटौँडामा पद तथा गोपनीयताको शपथ गराउनुहुँदै उनले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका पक्षमा आफ्नो पार्टी अडिग रहने बताए ।
“राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र सामाजिक सद्भावलाई जोगाइराख्न राजनीतिक स्थिरता आवश्यक छ । त्यसका लागि सबै दल एक ठाउँमा उभिन जरुरी छ”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “एमाले सधैँ राष्ट्रिय स्वाभिमानका पक्षमा दृढतापूर्वक उभिरहेको छ ।
हामी राष्ट्रको भौगोलिक अखण्डताको रक्षा गर्न सधैँ दृढ रहने छौँ ।” उनले पार्टीका नेता, कार्यकर्ता तथा पार्टी निकट भ्रातृ सङ्गठन तथा शुभेच्छुक सबैलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरे । एमाले मकवानपुरको यही जेठ १८, १९ र २० गते हेटौँडामा १२औँ अधिवेशन सम्पन्न भएको थियो ।