काठमाडौं । आइएमई ग्रुप जलविद्युतमा आक्रामक रुपमा लगानी विस्तार गरिरहेको छ । बैंक तथा वित्तीय क्षेत्रमा लगानी विस्तार गरेको आइएमईले पछिल्लो समयमा जलविद्युत र केबुलकार पूर्वाधारमा लगानी बढाएको छ ।
ग्रुपको अगुवाइमा ६६.३० मेगावाटको मध्य कालिगण्डकी जलविद्युत आयोजना बनाउन थालिएको हो । आयोजना निर्माणको प्रारम्भीक चरणमा रहेको छ । अहिलेसम्म २.४९ प्रतिशत वित्तीय प्रगति भएको विकासकर्ता हाइड्रो सपोर्ट प्रालिले जनाएको छ ।
आयोजना बनाउन निर्माण अवधिको ब्याज (आइडिसी) सहित गरि कूल १४ अर्ब ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ४० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
आयोजनामा ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरि लगानी संरचना तयार पारिएको छ । कम्पनीले आयोजना बनाउन ११ अर्ब १३ करोड रुपैयाँ बैंकबाट ऋण लिनेछ ।
आयोजनाको काम २०२८ को जुनमा सक्ने लक्ष्य कम्पनीको छ । नदी प्रवाही (आरओआर) प्रकृतिको आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको छ ।
आयोजनामा ३९ प्रतिशत हिस्सा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको छ । क्यू ४० मा आयोजना बन्न लागेको हो । आयोजनाको ५३.५३ मेगावाट हाइड्रो सपोर्ट र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिदबिक्री सम्झौता (पिपिए) भइसकेको छ ।
थपिएको क्षमता १२.७६ मेगाावटको पिपिए हुने चरणमा रहेको कम्पनीले जनाएको छ । वर्षाको ६ महिना प्रतियुनिट ४.८० रुपैयाँ र ६ महिना प्रतियुनिट ८.४० रुपैयाँका दरले पिपिए भएको छ ।
आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धि पाउने छ । आयोजनाबाट उत्पादन हुने बिजुली ७ किलोमिटर दुरीमा रहेको म्याग्दीको २२० केभी दाना सबस्टेशनमा जोडिने भएको छ ।
दाना सबस्टेशन सञ्चालनमा आइसकेको छ । आयोजना मध्य कालिगण्डकी जलविद्युत आयोजना र मिस्त्री खोला–२ आयोजनाको क्यास्केडका रूपमा विकास गरिन लागेको हो । आयोजनास्थलमा राजमार्गको पहुँच छ । यस्तै प्रसारण लाइनसमेत बनिसकेको छ ।
हाइड्रो सर्पोटको अध्यक्ष ढकाल रहेका छन् । उनी ग्लोबल आइएमई बैंकको अध्यक्ष पनि हुन् । ग्रुपले हिमालयन पावर पार्टनर लिमिटेडमार्फत २७ मेगावाटको दोर्दी खोला, माउन्टेन इनर्जी लिमिटेडबाट ४२ मेगावाटको मिस्त्री खोला र ६ मेगावाटको तादीखोला आयोजना सञ्चालनमा छन् ।
आइएमईले ८६ मेगावाटको तिप्ल्याङ कालिगण्डकी जलविद्युत आयोजना बनाउन थालेको छ । आयोजनाको पिपिए भएको छ । आयोजना म्याग्दीको अन्नपूर्ण तथा रघुगंगा गाउँपालिकामा पर्छ।
मध्य कालिगण्डकी र तिप्ल्याङ कालिगण्डकी दुई आयोजनाबाट वार्षिक ९२ करोड ६३ लाख ६५ हजार युनिट बिजुली उत्पादन हुनेछ ।
जसअनुसार खुक्खायाममा २९ करोड ५४ लाख ६८ हजार र बर्खामा ६३ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । दुवै आयोजना २०८६ असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
आयोजनाको कूल लागत ३३ अर्ब १४ करोड रूपैयाँ रहेको छ । आयोजनामा स्वपुँजी लगानी आइएमई समूहलगायतबाट हुनेछ । आइएमई ग्रुपले जलविद्युतका अलवा ६ प्रदेशमा केबुलकार बनाउने घोषणा गरेको छ ।
चन्द्रागिरी, लुम्बिनी र मौलाकालिका केबुलकार सञ्चालन भइसकेका छन् । ग्रुपले ताप्लेजुङको पाथिभरामा केबुलकार सञ्चालनको तयारी गरिरहेको छ ।