काठमाडौं । नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले आइसिसी टि-ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानविनको लागि आयोग गठन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले आइसिसी टी-ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको समाचारहरु आएका भन्दै छानविन गरी दोषिलाई कारबाही गर्न आयोग गठन गर्न माग गरेका हुन् ।
उनले क्यानको नेतृत्वबाट अनियमितता भएको कुरा आएकाले छानविन गर्नुपर्ने बताए । उनले सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको बताए ।
उनले भने, ‘अमेरिका र वेस्ट इण्डिज्को संयुक्त आयोजनामा टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा क्यानको नेतृत्वबाट अनेकौँ खालका गलत कामहरु भइरहेको र अनियमितता भइरहेको गुनासो आएकोले सरकारले यथाशिघ्र रोक्नुपर्ने जरुरी भएकोले यो कुरा उठाएको छु । टोलीको सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेका कारणले उनले भिसा पाएनन् । र जिताउन लाग्नुपर्ने क्यानको नेतृत्व राम्रो खेलाडीलाई हराएर किन टिम बनायो ? नेपाललाई हराउने खालको कि जिताउने खालको काम गरेको हो ? नेपालीहरुले प्रश्न गरिरहेका छन् । डाक्टरलाई कटाएर एकजना महिलाको नाम पठाइयो । आइसिसीले अस्वीकार गर्यो ।’
‘जसले गर्दा नेपालको प्रतिष्ठामा ठुलो आघात पारेको छ । खेलाडीको साख बेचेर, खेलाडीलाई होटेलमा उभ्याएर चन्दा उठाएर दुरुपयोग गरिएको भन्ने गुनासो आएको छ । अवैध रुपमा जर्सीहरु अमेरिका लगेर नेपालीहरुलाई महङ्गोमा विक्रि गरेको र त्यो रकम पनि हिनामिना गरेको भन्ने गुनासाहरु आएका छन् ।
खेलाडीले हस्ताक्षर गरेका ब्याट र टिसर्ट मर्यादाहिन ढंगले विक्रि गरि हिनामिना गरेको भन्ने कुरा पनि आएका छन् । अमेरिकामा बस्ने नेपालीबाट अवैध रुपमा चन्दा उठाइ क्यानको खातामा नराखी दुरुपयोग गरेको भन्ने गुनासो आएको छ, आइसिसी टी ट्वान्टी प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता र भइरहेका जुन आरोप लागिरहेको छ, त्यो नेपालको शीर निहुँराउने भएको यस्तो गलत क्रियाकलापको सन्दर्भमा निष्पक्ष छानविन आयोग गठन गरेर सरकारले यथाशिघ्र छानविन गरोस् । दोषिमाथि कारबाही गरोस् भन्ने माग गर्न चाहन्छु’ उनले भने ।
उनले अनावश्यक मान्छेको नाम पनि टोलीमा राख्दा नेपालको प्रतिष्ठामा आघात पुगेको बताए ।