बिराटनगर : विराटनगरस्थित कोसी अस्पतालअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत आठ जनाले कोरोना परास्त गरेका छन् । उदयपुरको भुल्के क्षेत्रका तीन जना नागरिकसहित भुल्केस्थित मस्जिदमा सङ्क्रमित देखिएका पाँच जना भारतीय नागरिक कोरोना भाईरसमुक्त भएका हुन् । डिस्चार्ज हुनेहरूमा गत वैशाख ५ गते भर्ना गरिएका भारतीय नागरिक मो सबिर, मो सलौना, अहमद साइद, सलमान खान र मोरिस खान छन् । यसैगरी उदयपुर भुल्केका इद्रीश मियाँ ५२, गुड्डु आलम १८ र मुस्ताकी ६६ रहेको अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
उदयपुरका तीनजना नागरिकमा वैशाख ९ गते सङ्क्रमण पुष्टि भएको थियो । उनीहरुको पछिल्लो परीक्षणमा लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि चिकित्सकको सुझाव अनुसार डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएकाहरूमध्ये पाँचजना भारतीयलाई विराटनगरमा र उदयपुरका तीनजना नेपाली नागरिकलाई सम्बन्धित स्थानीय तहमा पठाइने भएको छ । कोभिड–१९ उपचार केन्द्रबाट यसअघि १७ जना डिस्चार्ज भईसकेका छन् । बुधबार आठ जनासहित विराटनगरबाट कोरोना परास्त गरी डिस्चार्ज हुनेको सङ्ख्या २५ पुगेको छ । यसैगरी जम्मा ४५ जना कोरोना निको भएका छन्