logo

२०८१ असार ६ बिहिबार

logo
  • बिहिबार, ६ असार २०८१
  • सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३ दशमलब ४१ प्रतिशत हुने अनुमान

    सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३ दशमलब ४१ प्रतिशत हुने अनुमान

    507
    Shares
    सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३ दशमलब ४१ प्रतिशत हुने अनुमान

    सुदूरपश्चिम । चालु आर्थिक वर्ष २०८० /८१ मा सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ उत्पादनको आकार रु चार खर्ब चार अर्ब २८ करोड र आर्थिक वृद्धिदर तीन दशमलब ४१ प्रतिशत रहने अनुमान छ ।

    गत आवमा वृद्धिदर एक दशमलब ५२ प्रतिशत रहेको थियो । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आव २०८०/८१ को गत फागुन महिनासम्मको आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुहुँदै चालु आवमा राष्ट्रिय अर्थतन्त्रको आकार रु ५७ खर्ब चार अर्ब ८४ करोड हुने र आर्थिक वृद्धिदर तीन दशमलब ५४ प्रतिशत हुने अनुमान गरिएको बताए ।

    प्रदेश सरकारले प्रदेशसभाको बैठकमा असार १ गते आगामी आव २०८१/८२ को लागि राजस्व र व्ययको अनुमान (बजेट) पेस गर्दै छ । बजेट प्रस्तुत गर्नअघि प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री पालले प्रदेशभित्रका समष्टिगत आर्थिक परिसूचक, खर्चको प्रवृत्ति, सामाजिक विकासका प्रमुख सूचकहरु समावेश गरिएको आव २०८०/८१ को फागुनसम्मको आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् ।

    प्रस्तुत आर्थिक सर्वेक्षणमा चालु आवमा राष्ट्रिय कूल गार्हस्थ उत्पादनमा सुदूरपश्चिम प्रदेशको योगदान सात दशमलब एक प्रतिशत रहने अनुमान गरिएको छ । चालु आवको फागुनसम्ममा औसत उपभोक्ता मुद्रास्फिति चार दशमलब ८२ प्रतिशत र औसत थोक मुद्रास्फिति तीन दशमलब ६९ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।

    सर्वेक्षणमा चालु आवमा कृषि क्षेत्र र सेवा क्षेत्रको वृद्धिदर क्रमशः तीन दशमलव ४२ प्रतिशत र चार दशमलब शून्य नौ प्रतिशत धनात्मक रहने अनुमान गरिएको छ । आव २०७९/८० मा सुदूरपश्चिम प्रदेशको आय एक हजार ६३ अमेरिकी डलर रहेकोमा चालु आव २०८०/८१ मा उक्त आय एक हजार एक सय ११ अमेरिकी डलर रहने अनुमान गरिएको छ ।

    चालु आवको गत फागुनसम्म प्रदेश सरकारको कूल आय गत आवको सोही अवधिको तुलनामा १३ दशमलब ५६ प्रतिशतले घटेर रु १७ अर्ब ९९ करोड ४७ लाख पुगेको छ । गत फागुनसम्म सरकारको आन्तरिक राजस्व रु ७६ करोड ६४ लाख, बाँडफाँटबाट प्राप्त राजस्व रु चार अर्ब ८७ करोड,संघीय अनुदान प्राप्त रु सात अर्ब ७८ करोड ९१ लाख र नगद मौज्दात रु चार अर्ब ४६ करोड दुई लाख गरी कूल आय रु १७ अर्ब ९९ करोड ४७ लाख रहेको छ ।

    फागुनसम्म प्रदेश सरकारको कूल खर्च रु सात अर्ब १४ करोड ७३ लाख रहेको छ । जसमध्ये चालु खर्च रु तीन अर्ब ७० करोड २४ लाख र पुँजीगत खर्च रु तीन अर्ब ४४ करोड ४९ लाख रहेको छ । चालु वर्षको फागुनसम्मको सरकारको राजस्वमध्ये कर राजस्व रु ४४ करोड १३ लाख र गैरकर राजस्व रु ३२ करोड ५१ लाख रहेको छ ।

    आर्थिक सर्वेक्षणमा चालु वर्षको गत फागुनसम्म प्रदेशका स्थानीय तहको चालु र पुँजीगत गरी कूल रु २३ अर्ब ८८ करोड ३३ लाख खर्च भएको छ । यो अवधिमा स्थानीय तहलाई प्रदेश सरकारले रु १९ करोड ४२ लाख राजस्व बाँडफाँबापत वित्तीय हस्तान्तरण गरेको छ ।

    चालु वर्षको माघसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप रु एक खर्ब ३७ अर्ब पुगेको र कर्जा प्रवाह रु एक खर्ब ५३ अर्ब रहेको छ । आर्थिक सर्वेक्षणमा चालु वर्षको फागुनसम्म प्रदेशको एक लाख ८० हजार हेक्टरमा धान बाली खेती भएकोमा छ लाख ७४ हजार मेट्रिकटन उत्पादन भएको अनुमान गरिएको छ ।

    यस्तै मकै एक लाख तीन हजार मेट्रिक टन, कोदोे १९ हजार मेट्रिक टन उत्पादन भएको अनुमान छ ।

    प्रदेशमा दर्ता भएका एक हजार पाँच सय पाँच ओटा नयाँ उद्योगको कूलस्थिर पुँजी र ९९ करोड र चालु पूँजी रु ८६ करोड ६० लाख रहेको र यी उद्योगबाट चार हजार छ सय २१ रोजगारी सिर्जना हुने, पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि भएकोलगायतका विषय आर्थिक सर्वेक्षणमा समेटिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend