काठमाडौं ।नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ३ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको हो ।
निगम सञ्चालक समितिको आजको निर्णयानुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो । निगमले घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने जनाएको छ ।
मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १ सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा १ ६४ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा १ सय ६५ रुपैयाँ मूल्य कायम भएको छ ।
त्यसैगरी डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत १ सय ४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत १ सय ५१ र तेस्रो वर्गअन्तर्गत १ सय ५२ मूल्य कायम गरिएको निगमले जनाएको छ ।
विश्व बजारमा कच्चा तेलको भाउ घटेपछि निगमले मूल्य कम गरेको हो । ब्रेन्ड क्रुडमा कच्चा तेल प्रतिब्यारेल ८३.६२ ढलरमा कारोबार भएको छ ।