logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • संसद सचिवालयका कर्मचारीहरुको माग पूरा गर्न सरोकारवाला पक्ष सकारात्मक

    संसद सचिवालयका कर्मचारीहरुको माग पूरा गर्न सरोकारवाला पक्ष सकारात्मक

    611
    Shares
    संसद सचिवालयका कर्मचारीहरुको माग पूरा गर्न सरोकारवाला पक्ष सकारात्मक

    काठमाडौं । अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा माग गर्दै आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीहरुको जायज माग पूरा गर्न राजनीतिक दलहरु सकारात्मक भएका छन् । सोमबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राजनीतिक दलका प्रमुख सचेतक, संघीय संसद सचिवालयका महासचिव, सचिवहरु लगायतसँग कर्मचारीहरुको आन्दोलनको सम्बन्धमा छलफल गरेका थिए ।

    छलफलका क्रममा सरोकारवाला सबैले कर्मचारीहरुको न्यायोचित मागलाई सम्बोधन गर्नुपर्ने धारणा राखेका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीहरुको न्यायोचित मागलाई पूरा गर्नुपर्ने साझा निष्कर्ष रहेको बताए । उनले कर्मचारीहरुको मागलाई सम्बोधन गर्नका लागि अर्थमन्त्रीसँग पनि छलफल गर्नुपर्ने भएकाले भोलि(मंगलबार) अर्थमन्त्रीसँग छलफल हुने जानकारी गराए ।

    उनले संसद सचिवालयलाई आवश्यक बजेट विनियोजन गर्न सरकारले कन्ज्युस्याइँ गर्नु नहुने पनि बताए । प्रमुख सचेतक बर्तौलाले बजेट अभावलाई देखाउँदै संसदीय समिति बैठकमा गैरसरकारी संस्थाले खाजा खुवाउने सम्मको घटना देखिएको भन्दै यस्तो हुनु दुःखद् भएको बताए ।

    उनले भने– ‘बैठकको एउटै निष्कर्ष के रह्यो भने कर्मचारी साथीहरुले उठाउनुभएको न्यायोचित मागहरु पूरा गर्नुपर्छ । मागहरु पूरा गर्नका लागि सरकारले आवश्यक बजेटको विनियोजन गर्नुपर्ने पनि अवस्था छ । आजभन्दा १५/१७ वर्ष अगाडी कतिपय ऐन, नियमावलीमा भएका व्यवस्थाहरु आजको दिनमा सान्दर्भिक छैन । सेवासँग, भत्तासँग । ति विषयमा पनि समयानुकुल गर्ने कुरालाई सरकार सकारात्मक हुनुपर्छ र हामी संसदभित्रका सबै संसदका पदाधिकारीहरु यो विषयमा न्यायोचित मागहरु पुरा गर्न हामी सकारात्मक छौँ र अर्थमन्त्रीज्यूलाई यसको विषयमा भोलि नै उहाँहरुसँग संयुक्त रुपमा बैठक बस्ने र कर्मचारीहरुलाई आन्दोलनकै तहमा पुग्ने अवस्था नबनाउने ।

    यो कुरामा गम्भीरताका साथ छलफल गर्यौँ । अर्को कुरा संसदको समग्र काम, प्रक्रियाहरुमा पनि सरकारले आवश्यक बजेट विनियोजन नगर्दाखेरी कामहरु प्रभावित भए भन्ने गुनासोहरु पनि आइरहेको अवस्था छ । संसदको बैठक बिहान वा बेलुका अतिरिक्त समय वा सार्वजनिक बिदामा आयोजना गर्दा त्यसको लागि खाजासमेत एनजिओहरुले पठाउनुपर्ने परिस्थिति विकास भए भन्ने किसिमका हामीले ति घटनाहरु देख्यौँ । दुःखद घटना हुन् । यसले के देखाउँछ भने संसदको नियमित काम, प्रक्रियाहरुमा आवश्यक पर्ने बजेट व्यवस्थापन हुन नसक्दाखेरी यस खालका परिस्थितिहरु कतै विकास त भएका होइनन् ? यसतर्फ पनि समिक्षा गरेका छौँ ।

    संसदको कामलाई व्यवस्थित रुपमा अगाडी बढाउनका लागि संसदका कर्मचारीहरुको मनोबल उच्च बनाउनुपर्छ । यो पाटोमा हामीले ख्याल दिनुपर्छ । सरकारले उचित व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा भयो । भोलि अर्थमन्त्रीसँग बसेर आवश्यक निर्णय गर्छौ । संसदको गतिविधिहरुलाई अगाडी बढाउनका लागि सरकारले विनियोजन गर्नुपर्ने न्युनतम खर्चहरुमा सरकारले कन्ज्युस्याइँ गर्न पाउनुहुन्न । दिल खुल्ला, हात खुल्ला गरेर विनियोजन गर्नुपर्छ ।’

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आधिकारिक कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेले बैठकमा कुनै ठोस सहमति हुन नसकेको बताए । उनले आफूहरुले पाउने सेवा, सुविधालाई समयानुकुल बनाउनुपर्ने माग सम्बोधन नभए आन्दोलन जारी रहने पनि बताए । उनले आफूहरुको आन्दोलन फिर्ता नभएको स्पष्ट पारे ।

    उनले भने– ‘उहाँहरुले अर्थ मन्त्रालयसँग समन्वय गरेर जानकारी गराउँछौ भन्नुभएको छ । कुनै ठोस सहमति पनि भएको छैन । हाम्रो आन्दोलनपनि फिर्ता भएको छैन । ५/६ करोड भयो भने वर्ष दिनलाई पुग्छ । धेरै पैसा पनि छैन । हामी कति दिनसम्म श्रम शोषणमा रहने ? सेवा, सुविधालाई समयानुकुल बनाउनु पर्यो ।’

    उनले आफूहरुसँग लिखित सहमति नभएसम्म कार्यालय समयभन्दा बढी काम नगर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend