logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • वाग्मतीको बागद्वारसम्म पदयात्रा गरेर यो वर्षको ‘जेसुम यात्रा’ सम्पन्न

    वाग्मतीको बागद्वारसम्म पदयात्रा गरेर यो वर्षको ‘जेसुम यात्रा’ सम्पन्न

    598
    Shares
    वाग्मतीको बागद्वारसम्म पदयात्रा गरेर यो वर्षको ‘जेसुम यात्रा’ सम्पन्न

    काठमाडौँ । कलाका विभिन्न माध्यममार्फत स्थानीय सम्पदा, संस्कृति र सम्पदा प्रवर्द्धन गर्ने ध्येयले वाग्मतीको उद्गमस्थल बागद्वारसम्म पदयात्रा गरेर यो वर्षको ‘जेसुम यात्रा’ सम्पन्न भएको छ ।

    साहित्यकार, पत्रकार, चित्रकार र रंगकर्मीहरुले क्यानभासमा चित्र उतार्दै र साहित्य सिर्जना वाचन गर्दै बूढानीलकण्ठस्थित शिवपुरीको ऐतिहासिकस्थल बागद्वारमा पुगेर यात्रा समापन भएको अभियानका संस्थापक एवं बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख साहित्यकार अनिता लामाले बताईन ।

    “बागद्वार बाग्मती नदीको उद्गमस्थल हो । त्यही भएर यसपटक हामीले वाग्मती सभ्यताको उद्गमस्थललाई रोज्यौँ । वाग्मती सभ्यता, कला संस्कृति र प्राकृतिक सौन्दर्यको अवलोकन गर्यौँ । कलाकारहरुले क्यानभासमा चित्र उतार्नुभयो । साहित्यकारले सिर्जना वाचन गर्नुभयो”, उनले भनिन् ।

    यसपटक बागद्वार जेसुम यात्रा उपप्रमुख एवं कवि लामासँगै नाराद बज्राचार्य, फूलकुमार बम्जन, स्नेह सायमी, बालकृष्ण बस्नेत, फूलमान वल, जयन्ता पोखरेललगायतले कविता सिर्जना गरी वाचन गर्नुभएको थियो ।
    कलाकारहरु दीपेन्द्र बनेपाली, एनबी गुरुङ, विनोद गुप्ता, चन्द्र श्रेष्ठ, विपना महर्जन, नेमबहादुर तामाङ, मनरा प्रजापति, लुनिभा महर्जनलगायतका प्रत्यक्षरुपमा चित्र कोरेका थिए ।

    यस्तै सरोज अर्याल, केदार श्रेष्ठ, अनामिका गौतम, समापिका गौतमलगायतका रंगकर्मीले जीवन र प्रकृतिसँगको सम्बन्ध जोडिएको शीर्षकमा ‘ठेगाना’ नामक छोटो नाट्य प्रस्तुति गरेको उपप्रमुख लामाले बताइन ।

    बूढानीलकण्ठ नगरपालिकाको व्यवस्थापकीय सहकार्यमा सम्पन्न भएको जेसुम यात्रामा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी, वाग्मती प्रदेशका पूर्वसांसद एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँका जिल्ला अध्यक्ष दीपक निरौला, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायतका अतिथिहरु पनि सहभागी रहेको उपप्रमुख लामाले जानकारी दिइन ।

    स्थानीय संस्कृति र सम्पदा प्रवद्र्धन गर्न, विश्वव्यापी प्रकोप बन्दै गइरहेको जलवायु परिवर्तनप्रतिको सचेतना जगाउनका लागि यो यात्रा निरन्तर सञ्चालन भइरहेको छ ।

    काभ्रेको धुलिखेलबाट सुरु भएको जेसुम यात्रा नगरकोट, भक्तपुर, बौद्ध, तारकेश्वर, विष्णुद्वार, धनकुटालगायत विभिन्न थलोमा सम्पदास्थल पुगेर प्रत्यक्ष साहित्य रचना, चित्रकला सिर्जना र नाट्य प्रस्तुति गरिसकेको उपप्रमुख लामाले बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend