logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • इजराइली प्रधानमन्त्रीद्वारा युद्ध मन्त्रिपरिषद् भंग

    इजराइली प्रधानमन्त्रीद्वारा युद्ध मन्त्रिपरिषद् भंग

    1.4K
    Shares
    इजराइली प्रधानमन्त्रीद्वारा युद्ध मन्त्रिपरिषद् भंग

    एजेन्सी । इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले गाजामा युद्धको नेतृत्व गर्ने जिम्मेबारी दिइएको प्रभावशाली युद्ध मन्त्रिपरिषद्लाई भंग गरेको अधिकारीहरुले सोमबार बताएका छन् ।

    युद्ध मन्त्रिपरिषद्का एक प्रमुख सदस्यले प्रधानमन्त्रीको युद्ध व्यवस्थापन गर्ने तरिकालाई लिएर निराशा व्यक्त गर्दै सरकारको आलोचना गरेको केही दिनपछि यस्तो कदम चालिएको हो । यसै महिनाको प्रारम्भमा मध्यमार्गी पूर्व सैन्य प्रमुख बेनी गेन्ट्जले युद्ध मन्त्रिपरिषद् सदस्यबाट राजीनामा दिएपछि यस्तो कदमको व्यापक अपेक्षा गरिएको थियो ।

    सरकारबाट गेन्ट्जको अनुपस्थितिले नेतान्याहुलाई शासन गर्न आफ्ना अतिराष्ट्रवादी सहयोगीमाथि अधिक निर्भर बनाएको छ र युद्ध मन्त्रिपरिषद्को विघटनले गाजामा आठ महिना लामो युद्धका रुपमा भएको परिवर्तनलाई जोड दिएको छ ।

    नेतान्याहुले युद्धसँग सम्बन्धित संवेदनशील मुद्दाका लागि आफ्ना केही सरकारी सदस्यसँग सानो फोरम राख्नुहुने आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक अधिकारीले बताए । यसमा युद्धविराम सम्झौताको विरोध गर्ने र गाजामाथि पुनः कब्जा गर्नका लागि समर्थन गर्ने अतिदक्षिणपन्थी शासक साझेदार रहेको सुरक्षा मन्त्रिपरिषद् पनि समावेश छ ।

    गेन्ट्ज विपक्षी दलको नेता तथा नेतान्याहुका प्रतिद्वन्द्वी रहेको बेला युद्ध मन्त्रिपरिषद्को गठन युद्धको सुरुआती दिनमा गरिएको थियो । अक्टोबर ७ मा दक्षिणी इजराइलमाथि हमासको आक्रमणपछि एकता प्रदर्शनमा गेन्ट्ज गठबन्धनमा सामेल भएका थिए ।उनले नेतान्याहुको सरकारका अतिदक्षिणपन्थी सदस्यहरुलाई किनारा लगाउन सानो निर्णय गर्ने निकायले युद्धको नेतृत्व गर्नुपर्छ भन्ने माग गरेका थिए ।

    युद्ध मन्त्रिपरिषद्मा तीन सदस्य गेन्ट्ज, नेतान्याहु र रक्षामन्त्री योभ ग्यालेन्ट थिए । उनीहरुले मिलेर युद्धका क्रममा महत्त्वपूर्ण निर्णय गरेका थिए । इजराइलले थप महत्त्वपूर्ण निर्णयको सामना गर्नुपरिरहेको बेला युद्ध मन्त्रिपरिषद् समाप्त गर्ने कदम चालिएको छ ।

    हमासको आक्रमणका क्रममा बन्धक बनाइएका मानिसहरुको रिहाइको बदलामा इजराइल र हमासले युद्धविरामको पछिल्लो प्रस्तावमाथि विचार गरिरहेका छन् । इजराइली सेना अहिले पनि गाजा पट्टीमा फसेका छन् । उनीहरु दक्षिणी सहर रफाह र अन्य स्थानमा हमासको पुनरुत्थानविरुद्ध लडिरहेका छन् ।

    साथै इजराइल र लेबनानी हिजबुल्लाह लडाकू समूहबीच हिंसा जारी छ । सम्पूर्ण युद्धमा नेतान्याहुले इजराइलको शीर्ष सहयोगी अमेरिका, युद्धको बढ्दो विश्वव्यापी विरोध तथा आफ्ना सरकारी सहयोगीहरु वित्तमन्त्री बेजेलेज स्मोट्रिच र राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–गभिरको दबाबबीच सन्तुलन बनाउने भूमिका निर्वाह गरेका छन् ।

    दुवै मन्त्रीले इजराइलले युद्धविराम सम्झौतामा अघि बढेमा सरकार ढाल्ने धम्की दिएका छन् । विचाराधीन पछिल्लो प्रस्ताव युद्ध अन्त्य गर्न सहयोग गर्नका लागि बाइडेन प्रशासनको सबैभन्दा केन्द्रित प्रयासको हिस्सा हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend