काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले कवाडी व्यवसायीहरुमाथि सरकारले दमन गरेको बताएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्ताे बताएका हुन् ।
उनले मधसी जनतामाथि प्रहरीले दमन गर्नुले फेरि रंगभेदको आन्दोलन शुरु हुने खतरा देखिएको बताए । उनले आन्दोलनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइतेहरुको निःशुल्क उपचारको माग गरे ।
उनले भने, ‘मधेसका कवाडी व्यवसायीहरु आन्दोलनरत छन् । कानूनी रुपले पनि सही छ । यहीँ पाटन उच्च अदालतबाट दुई वटा अन्तरिम आदेश जारी छ की उनीहरुको कवाडी नहटाउनु । शान्तिपूर्ण आन्दोलन गर्दा एकाएक लाठी चार्ज भयो, रंगभेद, जातिभेद, लिंगभेदको लागि, वर्गभेदका लागि धेरै आन्दोलन भएका छन् । तर अहिले पनि २१ औं शताब्दीमा रंगभेद र जातिभेद गरिन्छ । एउटा वर्गले आन्दोलन गर्दा पानीको फोहरा, केही हुँदैन ।
मधेसको मान्छे काठमाडौंमा देख्नै नहुने यो कस्तो हो । कस्तो रणनीति हो सरकारको । दर्जनौँ घाइते भएका छन् । उनीहरुको उपचार निःशुल्क होस् । साथै काठमाडौंलाई रणमैदान बनाउन खोज्नुभएको छ । सबै फोहोर बालेन साह र महानगरपालिका अगाडि थुपारौँ । त्यसको लागि हामी साथमा छाैँ । किनभने म्हानगरले नै सिकाएको हो ।’
उनले काठमाडौंलाई रणमैदान बनाउन खोजिएको हो भन्दै गृहमन्त्रीसँग प्रश्न गरे । उनले काठमाडौंका कवाड व्यवसायीहरुलाई फोहोर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको घर र महानगर अगाडि लगेर फाल्न आग्रह गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाए ।