काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरपालिका अन्तर्गत सञ्चालित कम्तीमा एक सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गर्ने भएको छ । बुधबार महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यसबारेमा जानकारी गराएको हो ।
महानगरपालिकाले सङ्घीय र प्रादेशिक प्रहरीसँग नगर प्रहरीको समन्वयात्मक सहसम्बन्ध स्थापना गरी नगरवासीको सुरक्षा र गुनासा व्यवस्थापन गर्ने जनाएको छ । विपद् व्यवस्थापनसँग सम्बन्धित कार्य र नवीनतम र सिर्जनशील क्रियाकलाप एवं कर सङ्कलन लगायतका कार्यमा आवश्यकता अनुसार नगर प्रहरीको प्रभावकारी परिचालन गर्ने र साइकल लेनमा पार्किङ्ग निषेध गर्ने व्यवस्था मिलाउने जनाएको छ ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरी बलमा संलग्न जनशक्तिको उत्प्रेरणा एवं मनोबल अभिवृद्धिका लागि आवश्यक व्यवस्था गर्ने र नगर प्रहरीको सेवालाई केन्द्रबाट प्रभावकारी रुपमा परिचालन गर्ने व्यवस्था मिलाउने बताए । उनले विपद् सुरक्षा तथा व्यवसायजन्य स्वास्थ्य सुरक्षा सम्बन्धी सचेतना विकासका लागि अन्तर्राष्ट्रिय अभ्यासलाई अनुकरण गर्ने गरी क्षमता विकास गर्ने बताए ।
उनले संघ संस्था दर्ता, नियमन र अनुगमनलाई व्यवस्थित गर्ने, महिला तथा विपन्नवर्गको सशक्तिकरणका लागि कार्यक्रमहरु सञ्चालन गर्ने, वडास्तरीय/टोल स्तरीय महिला समूह, एकल महिला/पुरुष समूह, जेष्ठ नागरिक समूह, युवा समूह गठन, तथा सञ्चालनका लागि छुट्टै कार्यविधि जारी गर्ने बताए ।
दलितहरुको परम्परागत सीप तथा पेशालाई आधुनिकीकरण गर्दै स्वरोजगारमुखी बनाउन जोड दिइने, महानगर अन्तर्गत सञ्चालित कम्तीमा दुईवटा सामुदायिक विद्यालयलाई क श्रेणीको विशेष सुविधायुक्त विद्यालय वा अन्य संस्थागत विद्यालयसँगको सहयोग तथा सहकार्यमा कार्यविधि बमोजिम नमूना विद्यालयको रुपमा सञ्चालन गर्ने उनले बताए ।
ललितपुर महानगरपालिका क्षेत्र भित्र सञ्चालित बालविकास केन्द्रहरुको नक्शाङ्कन गरी बालविकास केन्द्रलाई एकिकरण तथा सुदृढीकरण गर्ने, संस्थागत विद्यालयसँगको सहयोग तथा सहकार्यमा महानगर भित्रका कम्तीमा पाँचवटा बाल विकास केन्द्रहरु (सञ्चालित/नयाँ) लाई कार्यविधि बमोजिम नमूना बाल विकास केन्द्रको रुपमा सञ्चालन गर्ने कार्यक्रम अघि सारेको छ ।
महानगर क्षेत्रभित्रबाट दैनिक फोहरमैला उत्पादन तथा उत्पादन हुने क्षेत्र वृद्धिको व्यवस्थापनका लागि अस्थायी ट्रान्सफर स्टेशन उपयुक्त स्थानमा स्थानान्तरण सम्बन्धमा अध्ययन गर्ने, फोहरमैला वर्गीकरण प्लान्ट र कम्पोष्ट प्लान्टको सम्बन्धमा अध्ययन गर्ने कार्यक्रम अघि सारेको छ ।