काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली कांग्रेसको बीचमा गबठन्धन भए अन्य राजनीतिक दलहरुले निर्वाचनमा पराजित गर्न नसक्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले घात, अन्तर्घात हुने भयले अन्य राजनीतिक दलहरुबीच गठबन्धन हुने गरेको भएपनि कांग्रेसको बीचमा गठबन्धन गरेको खण्डमा कुनैपनि राजनीतिक दलले हराउन नसक्ने जिकिर गरे । उनले महिलाहरु लैङ्गिक प्रतिनिधित्वमा राजनीतिक प्रतिनिधित्व भन्दा माथि उठ्न नसकेको बताए । उनले राजनीतिकसँगै आर्थिक, सामाजिक प्रतिनिधित्वमा पनि त्यत्तिकै सबल र सक्षम हुनुपर्ने बताए । उनले अबको निर्वाचनमा महिलाहरुलाई स्थानीय तहमा नेपाली कांग्रेसले प्राथमिकता दिएर पालिकाको अध्यक्षमा धेरै सिटहरु माहिलालाई दिन जरुरी रहेको बताए ।
उनले भने, ‘लैङ्गिक प्रतिनिधित्वको कुरा गर्दा हामी राजनीतिक प्रतिनिधित्व भन्दा माथि उठ्नै सकिरहेका छैनौँ । तपाईंहरुसँग कुरा गर्दा हाम्रो राजनीतकि प्रतिनिधित्व भएन भन्ने मात्रै पाउँछौँ । आर्थिक प्रतिनिधित्व, सामाजिक प्रतिनिधित्वको कुरामा तपाईंहरु पनि चुक्नुभएको छ जस्तो लाग्छ । यो विषयमा छलफल गरी रणनीति तयार गरेर अघि बढ्नुहोला । जतिसुकै राजनीतिक अधिकार दिएपनि आर्थिक अधिकार तपाईंहरुको भएन, सामाजिक अधिकारहरु भएन भने समस्या जहीँ को त्यहीँ रहन्छ । त्यसकारण आर्थिक समानता, सामाजिक समानताका कुराहरु पनि त्यत्तिकै ध्यान दिनुपर्छ । ३३ प्रतिशत सिट हामी रिजर्भेसन त गरेका छाैँ, मलाई के लाग्छ भने यो सिट जसरी रिजर्भेसन गरेका छौँ, राजनीतिक तहमा । त्यो आफ्नो ठाउँमा अपर्याप्त होला । तपाईंहरुको माग ५१ प्रतिशत नै हो ।
हामीलाई आपत्ति छैन । ३३ प्रतिशत भइसकेको छ भने अब ५१ प्रतिशत गर्न के आपत्ति भयो र । त्यसको लागि सक्षम बन्दै जानुपर्ने हुन्छ । त्यो सक्षमता बन्नका लागि अबको निर्वाचनमा महिलाहरुलाई स्थानीय तहमा नेपाली कांग्रेसले प्राथमिकता दिएर पालिकाको अध्यक्षमा पनि धेरै सिटहरु माहिलालाई दिन जरुरी छ । दोस्रो कुरा प्रदेश र संघ संसदको बीचमै प्रतिष्पर्धा गराइ अघि जानुपर्छ । त्यसमा तपाईंहरु तयार हुनुहुन्छ भन्ने म विश्वस्त छु । घात अन्तर्घात हुन्छ भनेर हामी गठबन्धन गरिरहेका छाैँ, राजनीतिक दलहरुको बीचमा । मलाई के लाग्छ भने नेपाली कांग्रेस आफैँ पनि सक्षम छ । हामी हाम्रो बीचमा गठबन्धन गरौँ । नेपाली कांग्रेसको बीचमा गबठन्धन गर्ने हो भने हामीलाई कुनैपनि शक्तिले हराउन सक्दैन । अन्य दलहरुसँग गठबन्धन गर्नै पर्दैन ।’
नेता कोईरालाले महिलाहरुलाई प्रदेश र संघ संसदको बीचमै प्रतिष्पर्धा गराइ अघि बढ्न आवश्यक रहेको बताए ।