काठमाडौं । स्पेनले युरो २०२४ मा इटलीलाई १-० ले पराजित गरेको छ । आत्मघाती गोलको मदतबाट स्पेनले इटालीलाई पराजित गरेको हो ।
गेलसेनकिर्चेनमा भएको खेलमा इटलीका रिकार्डो कालाफिओरीले ५५औं मिनेटमा आत्मघाती गोल गर्दा स्पेनले अग्रता बनाएको थियो । त्यही गोल स्पेनको जितमा निर्णायक बन्यो ।
समूह बी मा लगातार दोस्रो जित निकालेको स्पेन एक खेलअघि नै नकआउट चरणमा प्रवेश गरेको छ । स्पेनले पहिलो खेलमा क्रोएसियालाई ३-० ले पराजित गरेको थियो ।
इटलीको भने यो पहिलो हार हो । पहिलो खेलमा इटलीले अल्वानियालाई पराजित गरेको थियो ।
लगातार दुई जितपछि स्पेन ६ अंक जोडेर समूह बी को शीर्ष स्थानमा छ । हारपछि पनि इटली ३ अंकसहित दोस्रो स्थानमा छ र नकआउट चरणमा पुग्ने सम्भावना कायम छ ।