काठमाडौँ । दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
‘सुपर–८’ चरणअन्तर्गत सोमबार सम्पन्न ‘समूह–२’ को खेलमा वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा तीन विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । दक्षिण अफ्रिका जवाफी ब्याटिङ गर्न ओर्लिएपछि नर्थ साउन्डमा वर्षा सुरु भएको थियो ।
वर्षाले लामो समय खेल अवरुद्ध भएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १७ ओभरमा एक सय २३ रन बनाउनु पर्ने गरी दक्षिण अफ्रिकाले नयाँ लक्ष्य पाएको थियो ।
दक्षिण अफ्रिकाले १६.१ ओभरमा सात विकेट गुमाएर एक सय २४ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।